इरानसँग भारतको तेल सम्झौता



नयाँ दिल्ली : पेट्रोलियम पदार्थ आयात गर्ने विषयमा भारत र इरानबीच बिहीवार सम्झौता भएको छ। भारतले इरानबाट आयात गर्ने कच्चा पेट्रोलियम पदार्थको भुक्तानी भारतीय रुपैयाँमा गर्ने भएको छ ।

 

अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्ध ५ नोभेम्बरबाट लागू भएको थियो। यद्यपि अमेरिकाले भारतलगायतका ७ देशलाई इरानबाट तेल आयात गर्न छुट दिएको छ। भारतले विगतका भन्दा कम तेल आयात गरेको बताउँदै अमेरिकाले उक्त छुट दिएको थियो ।

 

भारतका पेट्रोलियम प्रशोधक कम्पनीले यूसीओ बैंकमा नेशनल इरानियन आयल कम्पनीको खातामार्फत भारतीय रुपैयाँ भुक्तानी गर्नेछन्। उक्त रुपैयाँमध्ये आधी रकम इरानले भारतीय उत्पादन खरिद गर्न खर्च गर्नेछ। अमेरिकी प्रतिबन्धका कारण इरानले भारतबाट अन्न, औषधि र चिकित्सा सम्बन्धी उपकरण आयात गर्नेछ। यसअघि भारतले इरानलाई यूरोपियन बैंकमार्फत यूरोमा रकम भुक्तान गर्दै आएको थियो। अमेरिकी चेतावनीका कारण यूरोपियन बैंकले नोभेम्बरदेखि यस्तो भुक्तानी बन्द गरेका थिए।

 

अमेरिकाले इरानबाट तेल आयात गर्न ६ महिनासम्मको छुट दिएको छ। छुटअनुसार भारतले दैनिक अधिकतम ३ लाख ब्यारेल कच्चा पेट्रोलियम पदार्थ आयात गर्न पाउँछ। यद्यपि हाल भारतले दैनिक औसत ५.६ लाख ब्यारेल आयात गर्ने गरेको छ। इरानबाट तेल सर्वाधिक तेल आयात गर्ने मुलुक चीन हो भने भारत दोस्रो मुलुक हो ।

 

यसअघि भारतले दैनिक ४.५२ लाख ब्यारेल आयात गर्दै आएको थियो। छुटअन्तर्गत २०१७/०१८ मा घटाएर यसलाई प्रतिदिन ३ ब्यारेलमा झारेको थियो ।

 

भारत संसारको तेस्रो सबैभन्दा ठूलो तेल उपभोग गर्ने मुलुक हो। भारतले आवश्यक ८० प्रतिशत तेल आयात गर्ने गरेको छ। उसले इराक, साउदी अरब र इरानबाट तेल आयात गर्दै आएको छ ।

 

मे २०१५ मा सम्पन्न इरानसँगको परमाणु सम्झौताबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिर्ता हुने निर्णय गरेका थिए। यसलगत्तै उनले इरानमाथि पुनः नाकाबन्दी घोषणा गरेका थिए। केही प्रतिबन्ध ६ अगस्तबाट लागू भएका थिए। तेल र बैंकिङ क्षेत्रमा भने नोभेम्बर ५ देखि लागू भएका थिए ।  अन्नपुर्णवाट

प्रतिक्रिया दिनुहोस्