निगमले माग्यो बोइङ बेच्न स्वीकृति



काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफूसँग रहेको एकमात्र बोइङ बिक्रीको लागि सरकारसँग स्वीकृति मागेको छ । बी७५७–२०० सिरिजको बोइङ बेच्ने स्वीकृतिको लागि आग्रह गर्दै निगमले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पत्र पठाएको हो ।

 

‘हामीले सरकारसँग स्वीकृति लिन बिहीबार मन्त्रालयलाई पत्र पठाएको छौं,’ निगमका प्रवक्ता अशोक सिग्देलले भने, ‘सरकारको सहमति आएपछि बिक्री प्रक्रिया थालिने छ।’ ९एन–एसिबी कलसाइनको एक सय ९० सिट क्षमताको उक्त जहाजमा समस्या आएर बारम्बार बनाउँदा कमाइभन्दा खर्च बढी हुने भएपछि निगमले बेच्ने योजना बनाएको हो ।

 

निगमको बोर्ड बैठकले जहाज बेच्न गत वैशाखमै सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार निगमले स्विजरल्यान्डको फिन्टेक नामको कम्पनीबाट त्यसको मूल्यांकन गराएको थियो। कम्पनीको जहाजका सबै प्राविधिक पक्ष जाँच गरेर मूल्यांकन प्रतिवेदन केही साताअघि बुझाएको थियो ।

 

मंगलबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्यांकन अनुसार जहाज बेच्न सरकारसँग स्वीकृति माग्ने निर्णय गरेपछि सरकारलाई पत्र लेखेको प्रवक्ता सिग्देलले बताए। सरकारको स्वीकृतिपछि जहाज बिक्रीको सूचना निकालिने छ। ऐन अनुसार सबैभन्दा बढीमा किन्न तयार हुने कम्पनीलाई जहाज बिक्री गरिनेछ ।

 

निगमसँग बोइङ जहाज दुइटा थिए। एउटा बेचिसकेको छ। निगमले यसअघि २०७४ माघमा कलसाइन ९एन–एसिए भएको बोइङ बिबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलरमा बेचेको थियो । निगमले बोइङको सट्टा एयरबस उडाउने भन्दै आफूसँग भएको अर्को जहाज पनि बेच्ने निर्णय गरेको नागरिकमा खवर छ ।

 

‘पहिलो कुरा त जहाज पुरानो भएर बिग्रिरहने समस्या भयो,’ प्रवक्ता सिग्देलले भने, ‘अर्को त हामी बोइङ छाडेर एयर बसतिरै केन्द्रित हुँदैछौं।’ उनका अनुसार एयर बस र बोइङ फरक प्रकारका जहाज राख्दा व्यवस्थापनमै समस्या भइरहेको छ। छुट्टै इन्जिनियर राख्नुपर्ने लगायत समस्या रहेको निगमले जनाएको छ । निगमसँग भएको गण्डकी नामको अहिलेको बोइङ सन् १९८९ मा अमेरिकी जहाज निर्माता कम्पनीसँग खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्