चीनविरोधी गतिविधि हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता



काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । नेपालका लागि चीनकी राजदुत यु होङसँग शुक्रबार भएको भेटवार्तामा गृहमन्त्री थापाले नेपाली भूमिबाट चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

गृहमन्त्रालयमा भएको भेट नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रित थियो ।

 

आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेकी राजदुत होङलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवादका साथै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे । राजदुत होङले आफ्नो कार्यकालमा नेपाल र चीनबीच सम्बन्ध विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गृहमन्त्री थापाले उनको कार्यकालमा नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

 

गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण, तालिम र सशस्त्र प्रहरी बलको तालिम केन्द्र निर्माणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तता पाउने विश्वास व्यक्त गरे । 

भेटमा राजदुत होङले आफ्नो नेपाल बसाइ सुखद रहेको बताइ्न । उनले आफू स्वदेश फर्किएपछि पनि नेपालको विकासका लागि सक्दो पहल गरिरहने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरणले आगामी दिनमा पनि निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपालमा चीनविरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्