त्रिनगर नाका हुँदै चेलीबेटी बिचबिखन बढ्दो 



धनगढी : सुदूरपश्चिमको त्रिनगर भन्सार नाकाबाट मानव तस्करले चेलीबेटीलाई सीमा कटाउने घटना बढ्दै गएको छ । तस्करको जालमा पर्नेमा बढीजसो १६ देखि ३९ वर्ष उमेर समुहका किशोरी तथा महिला छन् ।  

विगतमा अशिक्षित, आर्थिक अवस्था कमजोर भएको परिवारका नेपाली महिला बढी मात्रामा बेचबिखनमा पर्ने गरेका थिए । अहिले भने महिला शिक्षित भए पनि थोरै समयमा धेरै पैसा कमाउने लोभका कारण बेचबिखनको सिकार भइरहेका छन् ।

माइती नेपाल धनगढीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा त्रिनगर भन्सार नाकाबाट ८६ जना नेपाली चेलीलाई उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७४/७५ मा त्यो संख्या बढेर १ सय १९ जना पुगेको छ । यही वर्ष ११ जनालाई भारत र एकजनालाई कुबेतबाट गरी १ सय ३१ जना महिलाको उद्धार गरेको माइती नेपालले जानकारी दिएको छ । 

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा मात्रै ५३ जना महिलाको उद्धार गरिएको छ । यो संख्या विगतका वर्षको भन्दा बढी भएको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले बताए । बेचबिखनमा पर्नुको मुख्य कारण गरिबी रहेकाले कसलै थोरै समयमा धेरै पैसा कमाउने प्रलोभन देखाउँछ भने व्यक्ति स्वयं सचेत हुनुपर्ने माइती नेपाल प्रमुख चौधरीले सुझाव दिए ।

उनले भने, ‘श्रम शोषण, यौन शोषण, गर्भधारण, स्तनपानलगायतका काममा संलग्न गराउन दलालले भारतलगायत अन्य देशका विभिन्न ठाउमा विभिन्न माध्यमबाट  नेपाली महिलालाई बेचबिखन गरिरहेका छन् । यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्छ ।’  

त्यस्तै महिला अधिकारकर्मी कल्याणी सिंहले विगतभन्दा अहिले सामाजिक सञ्जाललगायत थुप्रै माध्यमबाट पनि चेलीबेटी बेचबिखनमा पर्ने गरेकाले देशमा गठित तीनवटै सरकारले विशेष ध्यान दिएर समस्या न्यूनीकरण गर्नुपर्ने बताइन् ।

बालिका पनि मानव तस्करको सिकार बन्ने गरेकाले यसको न्यूनीकरणतर्फ सरोकारवालालगायत सबैले गम्भीररुपमा पहल गर्न आवश्यक भएको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्