निजगढ विमानस्थल अध्ययन गर्न माधव नेपालको नेतृत्वमा उपसमिति गठन



काठमाडौं: देशभरका विमानस्थलको अध्ययनका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्धले समिति सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।

 

५ सदस्यीय उपसमितिलाई २ महिनाभित्र निर्माणको क्रममा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहित सञ्चालन भइरहेका विमानस्थलको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्य अनुमति दिइएको छ।

 

शुक्रबारको समिति बैठकमा निजगढ सहितका विमानस्थलबारे सांसदहरुले चासो व्यक्त गरेपछि अध्ययनका लागि संसदीय समिति नै गठन भएको हो। निजगढमा विमानस्थल बनाउनका लागि कति रुख काट्ने भन्ने विषयमा छलफल र विवाद भइरहेका बेला अन्तर्राष्ट्रिय समितिले उपसमिति नै बनाएर अध्ययन गर्न लागेको सांसद सुजिता शाक्यले बताइन्।

 

बैठकमा नेता नेपालले धेरै रुख काटेर शहर बनाउन नहुने बताए। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था आउन नदिन बेलैमा सचेत हुनुपर्ने उनको सुझाव थियो।

 

बैठकमा धेरै जंगल मासिने अवस्थामा सिमरामा रहेको वीरगन्ज चिनी कारखानाको जग्गामा विमानस्थल बनाउन सकिने प्रस्ताव आएको थियो। अर्का सांसद तथा नेकपाका नेता भीम रावलले पारदर्शितामा ध्यान दिँदै समग्र पक्षको अध्ययन हुनुपर्ने तर्क गरे।

 

कांग्रेस सांसद दीव्यमणि राजभण्डारीले पनि रिपोर्ट बनाउने र ठेक्का दिने काम भने फटाफट हुने तर काम ढिला हुने प्रवृत्तिमा आफूहरूको प्रश्न रहेको टिप्पणी गरे।

 

त्यस्तै अर्का कांग्रेस सांसद नारायण खड्काले निजगढको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा कमजोरी रहेको भन्दै त्यसलाई सच्याउन माग गरे।

प्रतिक्रिया दिनुहोस्