काठमाडाैं । बरिष्ठ नेता माधव नेपालले आयोजना गरेको ‘चियापान भेला’ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अनुपस्थित भएका छन्।
प्रदेशको नेतृत्व तोक्ने नेकपा केन्द्रीय सचिवालयको ५ असोजको निर्णय सम्बन्धमा असन्तुष्टि जनाउन नेपालको चियापान भेला बानेश्वरस्थित इन्द्रेनी होटलमा भइरहेको छ।
भेलामा नेपालले पार्टी स्थायी समितिका सबै सदस्यहरुलाई आमन्त्रण गरेका थिए।
‘राष्ट्रिय सुरक्षा नीति’ परिमार्जन सम्बन्धी पूर्व निर्धारित बैठकका कारण रक्षामन्त्री पोखरेल सो चियापानमा सहभागी हन नसकेको पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताए।
‘पूर्व निर्धारित बैठक थियो, नेता नेपाललाई जानकारी गराएर उहाँ मन्त्रालयमै रहनु भयो’ केसीले भने, ‘अन्य कारणले अनुपस्थित हुनु भएको होइन।’
५ असोजको केन्द्रीय सचिवालय बैठकले प्रदेश नेतृत्व चयन गरेको थियो, सो निर्णय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्कुलर मार्फत् तल्लो निकायमा पठाइसकेका छन्।
सो निर्णय गरेको सचिवालयको बैठकमा रक्षामन्त्री पोखरेलपनि सहभागी थिए।
ओली र प्रचण्डले धोका दिए: माधव नेपाल
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा असहमति जनाउँदै स्थायी कमिटी सदस्यहरुको राय संकलन गर्ने भएका छन् ।
पार्टीको कार्यवाहक अध्यक्षसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेता नेपालले सचिवालयको पछिल्लो निर्णय अश्वीकार गरेका छन् ।
नेपालले शुक्रबार अपरान्ह बानेश्वरमा स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । आफूसँग भएको सहमति विपरीत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकबाट एकलौटी निर्णय गरेको भन्दै नेपालले सो निर्णय कार्यान्वयन गर्न नहुने अडान राखेका छन् ।
नेपाल अफ्रिका भ्रमणमा रहेका बेला ७ प्रदेशका २८ जना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु चयन भएका थिए । सो निर्णय परिपत्रमार्फत कार्यान्वयनमा समेत पठाइसकिएको छ ।