सरकार धरापमा पर्न सक्छ – घनश्याम भुसाल



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी,नेकपा का नेता घनश्याम भुसालले पार्टी नेतृत्वले माक्र्सवादी विचार र सिद्धान्त अनुरुप आफूलाई रुपान्तरण गर्न नसके कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार धरापमा पर्न सक्ने चेतवनी दिएका छन् । समाजवादसम्मको गन्तब्य तय गरेको दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारका गतिविधि समाजवाद उन्मुख नदेखिएको भन्दै उनले नेतृत्वको यस्तै रवैया रहिरहे वर्तमान सरकार धेरै दिन टिक्न मुस्किल पर्ने समेत औंल्याए ।

कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह, राष्ट्रिय समितिद्वारा शनिबार रुपन्देहीको मणिग्राममा आयोजित गोष्ठीमा बोल्दै भुसालले दुई तिहाई बहुमतप्राप्त वर्तमान सरकारसामु थुप्रै अवसर र चुनौती रहेको उल्लेख गर्दै पार्टी नेतृत्वलाई कार्यशैली बदल्लन सुझाव दिए । नेपाली जनताको दशकौंको त्याग र वलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक क्रान्तिमार्फत् समाजवादसम्मको यात्रा तय गर्नुपर्ने अहिलेको आवश्यकता भए पनि सरकार अन्य कुरामै अल्मलिएको ठम्याइ भुसालको छ ।

दुई तिहाई बहुमतप्राप्त सरकार मात्रै उपलब्धि नभएको भन्दै उनले यसको सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । दुई तिहाईको दम्भ नदेखाइ जनपक्षीय कार्य गरेर समाजवादसम्म पुग्ने आधार स्तम्भ खडा गर्नुपर्ने भनाइ नेता भुसालको छ ।

वर्तमान अवस्थामा माक्र्सवादी शिक्षाको सान्दर्भिकता बढेर गएको दाबी पनि भुसालले उक्त अवसरमा गरे ।

‘जुन वर्ग र समुदायको नारा अगाडि सारेर हामी आज दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार निर्माण गर्न सफल भयौं, त्यो वर्ग र समुदायको हितमा काम गर्न सकेनौं भने जनताले हामिलाई पनि माफ गर्दैनन्’, भुसालले भने ।

कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह,राष्ट्रिय समितिका संयोजक समेत रहेका नेता भुसालले कम्युनिष्ट पार्टीका नेताहरुलाई माक्र्सवाद जिवितै छ है भन्ने सन्देश दिनका लागि आफूहरुले माक्र्सवादी शिक्षाको अभियान सञ्चालन गरेको प्रष्ट्याए ।

पावरमा भएकै बेला पार्टी नेतृत्व सिद्धान्त र विचारबाट च्यूत हुनसक्ने भन्दै उनले नेतृत्वलाई त्यतातर्फ जान नदिन पनि माक्र्सवादको स्मरण गराउनु जरुरी रहेको बताए । स्वार्थको राजनीति गर्नेहरुले माक्र्सवादप्रति रुचि नराखेको र अर्को थरीलाई माक्र्सवादप्रति आक्रोश पैदा भएको भुसालले बताए ।

‘जसले चाकडी र चाप्लुसीको राजनीति गर्छ र अवसरको लागि राजनीति गर्छ, उसले माक्र्सवाद मान्दैन, त्यस्ता व्यक्तिहरुलाई माक्र्सवादप्रति अरुचि छ’,उनले भने ।

माक्र्सवादको विषयमा पार्टी कमिटीबाट निर्णय नगरी देशव्यापी प्रशिक्षण चलाएको उल्लेख गर्दै भुसालले प्रतिक्रान्तिका विरुद्ध माक्र्सवाद ज्यूँदै छ भन्ने देखाउन यस्तो अभियान चलाइएको उल्लेख गरे । ‘यो अभियान एउटा प्रभातफेरि हो, देशैभर १० हजार युवालाई माक्र्सवाद पढाउने हाम्रो योजना छ’, भुसालले भने ।

 

प्रतिक्रिया दिनुहोस्