नेवारेको परिचय बन्यो ‘निजामती गाउँ’  



वीरेन्द्रनगर: निजामती सेवामा २०५६ मा प्रवेश गरेका वीरेन्द्रनगर–१२, नेवारेका सुशील केसी आफ्नो परिवारमा चौथो पुस्ताका सरकारी जागिरे हुन् । उनका बुबा न्यायाधीश, हजुरबुबा मुखिया र हजुरबुबाको बुबा सरकारी पुजारी थिए । ‘त्यसभन्दा अघिको पुस्ताबारे थाहा भएन,’ उनी भन्छन्, ‘थाहा पाएसम्म हाम्रो सरकारी सेवा खानदानी हो ।’

 

उपत्यकाको उत्तरपूर्वमा अवस्थित नेवारेमा सुशील र उनको परिवार मात्र होइन, अन्य धेरै व्यक्ति निजामती (सरकारी) सेवामा छन् । त्यसैले त नेवारेले ‘निजामती गाउँ’को पहिचान बनाएको छ । स्थानीय टोल विकास संस्थाका अनुसार नेवारेमा करिब २ सय ५० घरधुरी छन् ।

 

यी घरबाट १ सय १४ जना निजामती सेवामा कार्यरत छन् । शाखा अधिकृतबाट अवकाश पाएका स्थानीय बुद्धिप्रसाद सापकोटाका अनुसार तीमध्ये ८० पुरुष र ३४ महिला छन् । गाउँमा १४ जना त दम्पती नै निजामती सेवामा रहेको उनले बताए ।

 

केशव चपाईंको परिवार नेवारेको त्यस्तै एक नमुना परिवार हो । उच्च सरकारी वकिल कार्यालय सुर्खेतमा उपन्यायाधिवक्ता (उपसचिव) रहेका उनको परिवारमा श्रीमतीका साथै दाइ–भाउजू, बहिनी र भतिजा निजामती सेवामै रहेका कान्तिपुर दैनिकमा खवर छ ।

 

‘व्यवसायमा जस्तो लगानी गर्नु नपर्ने, मिहिनेत गरे पुग्ने,’ उनी भन्छन्, ‘निष्पक्ष र स्वच्छ प्रतिस्पर्धाबाट सेवा प्रवेश गर्न सकिने भएकाले निजामती रोजें ।’ आफ्नै प्रेरणाले परिवारका अरू सदस्य पनि निजामतीतर्फ प्रवेश गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्