नेयमारले जब रोनाल्डो छाडेर मेसी राेजे



एजेन्सी : ब्राजिलियन फरवार्ड तथा बार्सिलोनाका पूर्वखेलाडी नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका कप्तान लिओनेलबीच तुलना गरेका छन् । यसबीचमा उनले आफूलाई रोनाल्डोभन्दा मेसी मनपर्ने बताए । 

ब्राजिलका २६ बर्से नेयमारले पीएसजीबाट खेल्नुअघि बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । साथै उनको बार्सिलोना कार्यकाल सफलसमेत भएको थियो । उनले त्यसक्रममा मेसीसँग लामो समय सँगै खेलेका थिए । उनले रोनाल्डोविरुद्ध पनि एल क्लासिकोमा पटकपटक खेल्ने मौका पाए । पछिल्लो एक दशक विश्व फुटबलमा राज गरिरहेका मेसी र रोनाल्डोबीच उनले मेसी नै रोजे । 

 

नेयमारले आफ्नो यूट्युब च्यानलमा भएको अन्तर्वार्ताका क्रममा मेसी र रोनाल्डोमा अभिव्यक्ति दिँदै भने, ‘मेसीसँग धेरै क्षमता छ । मलाई लाग्छ रोनाल्डोभन्दा मेसीसँग सफल खेलाडी बन्ने क्षमता बढी छ । उनमा मैले धरै दक्षता देखेको छु ।’ उनले थपे, ‘रोनाल्डोले करिअरको सुरुमा विंगरको भूमिका निभाए ।

 

त्यसपछि स्ट्राइकर भएका उनले अहिले आफूलाई गोलकर्ताका रुपमा स्थापित गरेका छन् । उनले खेलाडीलाई छलाउने र बल लिएर खेल्नेभन्दा पनि वन टच पास खेल्छन् । पेनाल्टी क्षेत्रभित्र बसेर गोल हान्ने रणनीति लिएका छन्,’ नेयमारले रोनाल्डोबारे भने ।

 

मेसीबारेमा बोल्दा भने नेयमारले आफूले सँगै खेल्दाको अनुभव सुनाएका थिए । ‘मेसीसँग लगभग खेलमा चाहिने सबै पक्ष छ । गोल गर्ने अद्भुत क्षमता भएका उनले टोलीलाई आवश्यक पर्दा मिडफिल्डको तल्लो भागमा आएर पनि सहयोग गरिरहेका हुन्छन् । मैले सोच्न नसकेको ठाउँबाट पनि उनले गोलको मौका सिर्जना गर्ने क्षमता राख्छन् । त्यसैले मेसी नै उत्कृष्ट छन्,’ नेयमारले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्