‘भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको दलाली गरेर सत्ता टिकाउन मात्र सरकार लाग्यो’



बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलाल र ठेकेदारबाट सरकार निर्देशित भएको आरोप लगाएका छन् । 

 

राष्ट्रिय जनमोर्चा बागलुङको छैठौं जिल्ला अधिवेशनको गलकोटमा उद्घाटन गर्दै अध्यक्ष केसीले दुई तिहाइको शक्तिशाली सरकार भए पनि संघीय सरकार गतिशील बन्न नसकेको बताए । अबका दिनमा पनि सरकार जनताको समस्या हल गर्ने दिशामा जान नसक्ने पनि उनले दाबी गरे । 

 

विदेशी ऋणको भरमा देश चलेको भन्दै अध्यक्ष केसीले जनशक्ति विदेश पठाएर रेमिट्यान्सले देश नबन्ने बताए । ‘अहिलेको दुई तिहाइको बलियो सरकार आयो, अब स्थायित्व र समृद्धि हुन्छ भन्ने केही विश्वास थियो,’ अध्यक्ष केसीले भने, ‘तर सरकार दलाल, ठेकदार र माफियाको चगुंलबाट कत्ति पनि बाहिर आउन सकेन ।’ 

 

अब आफूले उठाएको संघीयताविरोधी एजेन्डा बोकेर राष्ट्रियताको रक्षाका लागि लाग्ने उनले उद्घोष गरे । अहिले कायम प्रदेश सरकार कामकाजी नभएको आर्थिक बोझ मात्र थपेको भन्दै अब प्रदेश सरकार खारेज गर्नुपर्नेसमेत उनले बताए । 

 

भारतीय नाकाबन्दीका बेला राष्ट्रवादी छबि बनाएका वर्तमान प्रधानमन्त्री केपी ओलीको अहिलेको सरकार भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद तथा युरोपियन युनियनको दलाली गरेर सत्ता टिकाउन केन्द्रित भएको आरोप उनको छ । 

 

देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक रूपान्तरण हुन नसकेको उल्लेख गर्दै अब समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अहिलेको संघीय राज्य व्यवस्थाले जनताको टाउकोमा कर थोपर्ने कामबाहेक केही नगरेको उनको जिकिर थियो ।

 

‘संघीयता न नेपाली जनताले चाहेर आएको हो, न त नेपाली नेताको दिमागको उपज नै हो,’ अध्यक्ष केसीले थपे, ‘यो त कसैको इसारामा जनतामाथि लादिएको मात्रै हो । हामीले यसो नगर्न पटक पटक आवाज उठायौं, तर सुनुवाइ भएन, त्यसको परिणाम र परिदृश्य क्रमश: देखिँदै छ ।’ 

 

दुई दिनसम्म चल्ने सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष अमर थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्