अमेरिकासँग व्यापार युद्धका बेला पनि नाफा उच्च रहेकाे चिनियाँ दाबी



बेइजिङ : अमेरिकासँग व्यापार युद्ध चलिरहेका बेला पनि दुई देशबीचकाे व्यापारमा आफ्नाे नाफा उच्च रहेकाे दाबी चीनले गरेकाे छ । नोभेम्बरमा अमेरिकासँगको चीनकाे व्यापार नाफा उच्च रहेको बेइजिङले जनाएको हाे ।

 

चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्कअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।

'यो वर्षको नोभेम्बरमा चिनियाँ सामानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,' तथ्याङ्कमा भनिएको छ । 

अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै वर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो । चीन–अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भए पनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दाबी छ । 

सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र अघिल्लो वर्षको सोही अवधिमा व्यापार नाफा दुई खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दाबी गरेकाे एएफपीले जनाएकाे छ। 

प्रतिक्रिया दिनुहोस्