‘केही व्यक्तिले उक्साहटमा योगी भ्रमणको विरोध गरे’



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरूले भव्य स्वागत गर्ने र उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । 

शनिबार रिपोर्टर्स क्लबमा यादवले भने, ‘भारतका उत्तरप्रदेशका मुख्यमन्त्री जनकपुर आउँदै हुनुहुन्छ, नेपाल र भारत दुई वटा स्वतन्त्र देश हुन् । भारत हाम्रो सबैभन्दा नजिकको मित्रराष्ट्र पनि हो । यो दुई वटा देश बनेपछि हाम्रा सम्बन्ध निर्माण भएको होइन । यो सम्बन्ध आधुनिक राज्य अस्तिवमा आउनुअघि नै भएको हो ।’

 

ईतिहास, सभ्यता र संस्कृतिलाई बचाउन विवाहपञ्चमीमा अयोध्याबाट जन्ती लिएर आउने कार्यक्रम अनिवार्य भएको उनले बताए । मुख्यमन्त्री आदित्यनाथलाई उत्साहका साथ स्वागत गर्न उनले सबैलाई आग्रहसमेत गरे ।

 

नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध बलियो रहेको बताए । उनले भने, हामी स्वागत गर्न आतुर छौं ।’ साथै योगी आदित्यनाथको भ्रमणले दुई देशको सम्बन्ध कसिलो भएर जाने उनले विश्वास व्यक्त गरे ।

 

पछिल्लो समय राजनीतिक उपलब्धिका नाममा चलखेल भएको यादवको गुनासो थियो । अरूबाट परिचालित केही व्यक्तिले नाइटोदेखि बल लगाएर मुख्यमन्त्री योगीको भ्रमणको विरोध गर्न लागिपरेको पनि उनले गम्भीर आरोप लगाए । 

 

फरक प्रसंग झिक्दै आफूहरूले जुन विश्वासका साथ वर्तमान प्रधानमन्त्री केपी  ओली नेतृत्व सरकारलाई समर्थन गरेको हो त्यसमा सरकार खरो उत्रिन नसकेको उनले आरोप लगाए । 

 

‘दुई तिहाइले संविधान संशोधन गर्न सक्छ भनेर ओली नेतृत्वलाई साथ दियौं तर हाम्रो अनुकूल केही भएन,’ उनी आक्रोशित हुँदै भने, ‘यसमा ओलीजीले हामीसँग आपसी समझदारी गर्नुभएको पनि थियो । तर, त्यसो हुन सकेन ।’

 

यो सरकारले विकासको काम गर्छ भन्ने जनविश्वास गुमाएको उनको ठहर थियो । साथै अब बस्ने पार्टी बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पनि छलफल गरिने उनले बताए ।

 

प्रमुख प्रतिपक्षी कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादवले पनि भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगीलाई जनकपुरमा भव्य स्वागत गर्न आफूहरू तयार रहेको बताए । साथै कांग्रेस केन्द्रीय समितिले पनि यसलाई समर्थन गरेको जानकारी गराए । योगीको भ्रमणबारे पार्टीले सरकारसँग छलफल गरेर सुरक्षा व्यवस्थाको अझ चुस्त बनाउनुपर्ने उनले धारणा राखे । 

 

भारतीय नेता तथा मन्त्रीहरूको भ्रमणले जनकपुरको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने उनले विश्वास दिलाए । यस पटकको विवाहपञ्चमी अन्य वर्षभन्दा भव्य हुने बताउँदै महोत्सवले विश्वभर राम्रो सन्देश जाने उनको धारणा थियो ।यादवले संघीय र प्रदेश सरकारको काम गराइको ढंगले आम जनतामा निराशा छाएको भन्दै सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्