जनकपुरमा विवाह महोत्सव तयारी : धमाधम शौचालय निर्माण



जनकपुरधाम : सीताराम विवाह महोत्सवमा सहभागी हुने पाहुनाका लागि यति बेला जनकपुरमा धमाधम अस्थायी शौचालय निर्माण हुँदैछ । जनकपुर उपमहानगरपालिकाले  साताव्यापी विवाह महोत्सवमा लाखौं श्रद्धालु सहभागी हुने आकलनसहित शौचालय निर्माणलाई तीव्र पारेको हो । 

जनकपुरमा सार्वजनिक शौचालयको अभाव छ । यही कारण मानिसको भीडभाड़ हुने स्थानमा धमाधम अस्थायी शौचालय निर्माण भइरहेको उपमहानगरपालिका कार्यालयका सरसफाइ इन्चार्ज ललन कर्णले बताए । ‘विवाह महोत्सवअन्तर्गत स्वयंवर हुने स्थान रंगभूमि मैदानमा मात्रै एक सयदेखि १ सय ५० वटा चर्पी निर्माण हुँदैछन्’, उनले द नेपालटपसँग भने ।

खानेपानी, सरसफाइ र शौचालय व्यवस्थापनको जिम्मेंवारी पाएअनुसार आफूहरुले ६ वटा चापाकल (धारा) निर्माण गरिसकेको कर्णले जानकारी दिए । नगरभित्र आवश्यकताअनुसार धारा र शौचालय व्यवस्थापन गर्ने उनले बताए । ‘अहिले नगरभित्र विभिन्न स्थानमा स्थायी प्रकृतिका सार्वजनिक शौचालय रहे पनि बाह्य पर्यटकलाई जानकारीको अभावले गर्दा समस्या देखिएको छ’, उनले थपे ।

जनकपुरको तिरहुतिया गाछी, रामचोकस्थित राममन्दिरको दक्षिणपट्टि, जानकी चोकमा पुरानो दूरसञ्चार कार्यालय, हनुमान टाकिजछेउ, रामानन्द चोक, बाह्रबिघालगायत १२ स्थानमा सार्वजनिक शौचालय सञ्चालनमा रहेको कर्णले जानकारी दिए । अस्थायी शौचालय पनि थपेर यस वर्ष महोत्सवका सहभागीलाई सहज बनाउने दाबी उनले गरे । 

 

शुक्रबारदेखि सुरु भएको विवाहपञ्चमीअन्तर्गत २५ र २६ गते सबैभन्दा बढ़ी भीडभाड़ हुने अनुमान गरिएको छ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि महोत्सवमा सहभागी हुने भएपछि यसपटक जनकपुर आउनेको संख्या बढ्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्