सीताराम विवाहोत्सव : फुलबारी लीला सम्पन्न, आइतबार धनुषयज्ञ



जनकपुरधाम : सीताराम महोत्सवक्रममा शनिबार जनकपुरधामस्थित जानकी मन्दिरसँगै जोडिएको विवाहमण्डपमा फुलबारीलीला सम्पन्न भएको छ ।

 

त्रेताकालमा राम र सीताको पहिलो देखभेट फुलबारीमै भएको स्मरणमा सीता र रामको प्रतीक बनाई सप्ताहव्यापी विवाहोत्सवक्रममा लीला भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

 

उनका अनुसार बालबालिकालाई सीतारामको जोडी बनाएर विवाहमण्डपमाशनिबार साँझ सम्पन्न फुलबारी लीलामा लोकगीत गायनसमेत भएको छ । फुलबारी लीला हेर्न विवाहमण्डपमा सयौं श्रद्धालुभक्तजनहरूको भीड लागेको थियो ।

 

सीताराम धुनमा श्रद्धालुहरू झुमेका थिए । परम्पराअनुसार सीताराम विवाहोत्सवको पहिलो दिन मंसिर २१ गते मन्दिर परिसरमा नगर दर्शन, दोस्रो दिन शनिबार फुलबारी लीला र आइतबार रंगभूमि मैदानमा धनुषयज्ञ हुने कार्यक्रम छन् ।

 

आइतबार हुने धनुषयज्ञका लागि पाँच फिटभन्दा ठूलो आकर्षक धनुष तयार गरिएको छ । आइतबार नै बाह्रबिघा (रंगभूमि) मा भगवान रामले धनुष उठाएर भाँच्ने र सीता स्वयंवर हुने कार्यक्रम गरिनेछ । मंसिर २६ गते सीता र राम विवाहको कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्