मोरङ प्याब्सनमा बस्नेत निर्वाचित



विराटनगर : निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मोरङको १४ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् । विराटनगरमा आइतबार बिहान सम्पन्न मतगणना अनुसार निकटतम प्रतिद्वन्द्वी सुनिल पौडेललाई ४० मत अन्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । 

बस्नेतले एक सय २१  मत प्राप्त गर्दा पौडेलले ८१ मत मात्रै प्राप्त गरे । बस्नेत समूहबाट उम्मेदवारी दिनेहरू महिला सह–सचिव बाहेक सम्पूर्ण पदमा निर्वाचित भएका छन् । महिला सह–सचिवमा पौडेल समूहकी मनकुमारी गुरुङ निर्विरोध निर्वाचित भइन ।

प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्षमा शीतला सुब्बा र महिला उपाध्यक्षमा रिना थापा निर्विरोध निर्वाचित भए । दुई उपाध्यक्षमा भक्तराज सुब्बा र सुवास राई विजयी भएका छन् । सुब्बाले एक सय ४५ मत र राईले एक सय २५ मत ल्याए । 

त्यस्तै सचिवमा पौडेल समूहका पुष्पविक्रम बस्नेतलाई  ५७  मत अन्तरले पराजित गर्दै बस्नेत समूहका प्रेमलालसिंह सुवाल निर्वाचित भए । सुवालले एक सय २८ मत ल्याउँदा बस्नेतले ७१ मत मात्रै ल्याउन सके ।

कोषाध्यक्षमा बस्नेत समूहका जगतबहादुर बस्नेतले पौडेल समूहका अमिस रेग्मीलाई २५ मत अन्तरले पराजित गरे । बस्नेतले एक सय १२ मत ल्याउँदा रेग्मीले ८७ मत ल्याए । 

दुई सह–सचिवमा बस्नेत समूहका सिएम रिजाल एक सय ४३ मत र विष्णु डंगोल एक सय ४१ मत ल्याएर विजयी बने । सह–कोषाध्यक्षमा बस्नेत समूहका देवी सिटौलाले पौडेल समूहका उज्ज्वल गौतमलाई ८५ मतले पराजित गरे ।  सिटौलाले एक सय ४० मत ल्याउँदा गौतमले ५५ मत मात्रै ल्याए । 

छ सदस्यका लागि भएको निर्वाचनबाट अमृतप्रसाद ढकाल, केदार पौडेल, इन्द्र सुब्बा, नगेन्द्रप्रसाद ढकाल, सूर्यप्रसाद गौतम र दीपेन्द्र कर्ण निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्