नेपाल-भारतबीच चितवनसम्मै ग्यास र पेट्रोलियम पाइपलाइन ल्याउने सहमति



काठमाडौं: नेपाल र भारतबीच नेपालको चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्नेसम्बन्धी महत्वपूर्ण सहमति भएको छ। शुक्रबार काठमाडौंमा बसेको दुई देशबीचको ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकले चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सहमतिसमेत गरेको छ। 

 

भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवबीचको बैठकले उक्त सहमति गरेको हो। त्यस्तै, नेपालमा प्राकृतिक ग्यासको पाइपलाइन भैरहवासम्म विस्तार गर्ने सम्बन्धमा पनि दुई पक्षबीच सहमति जुटेको छ। 

 

ग्यास पाइपलाइनका सम्बन्धमा भएको यो पहिलो सहमति हो भने पेट्रोलियम पाइपलाइनका सम्बन्धमा हाल अमलेखगञ्जसम्म निर्माणाधीन पाइपलाइनलाई चितवनसम्म ल्याउने सहमति जुटेको हो। प्राकृतिक ग्यासको सम्बन्धमा हाल भारतको गोरखपुरमा यस्तो प्लान्ट छ, त्यसलाई पाइपलाइनबाट भैरहवासम्म ल्याउने सहमति भएको हो। 

 

यो प्रारम्भिक सहमतिमात्र हो। यसको लागत लगायतका विषयमा भने थप सहमति जुट्न बाँकी छ। 


नेपाली व्यवसायीलाई ५३ वटा ग्यास बुलेट सञ्चालन गर्न दिन भारत सहमत

लामो समयपछि नेपाली नम्बर प्लेटका खाना पकाउने एलपी ग्यासको ढुवानी गर्ने बुलेट सञ्चालन गर्न दिन भारत सहमत भएको छ। शुक्रबार काठमाडौंमा बसेको दुई देशबीचको संयुक्त कार्यदलकाे बैठकले नेपाली व्यवसायीको लगानीमा भारतमा निर्माण भएका ५३ वटा बुलेट सञ्चालन गर्न दिने सम्बन्धमा सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले जानकारी दिए।

नेपाल आयल निगमले २७ असार २०७३ मा नेपाली व्यवसायीलाई नेपाली नम्बर प्लेटका ७ सय ७५ थान बुलेट सञ्चालनको अनुमति दिएको थियो।

 

निगमको सहमतिसँगै व्यवसायीले बुलेट निर्माणको अर्डर दिएका थिए। अर्डर बमोजिम बनेका बुलेट सञ्चालन गर्न दिने सम्बन्धमा भारतीय पक्षबाट अवरोध भएपछि केही संख्यामामात्र बुलेट बनेका थिए।

 

भारतले विष्फोटक प्रमाणपत्र जारी नगरीदिँदा निर्माण भइसकेका बुलेट लामो समयदेखि सञ्चालनमा आउन सकेका थिएनन्। 

 

शुक्रबार भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान र नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवसहितको उपस्थितिमा नेपालमा बसेको संयुक्त कार्यदलको बैठकले ५३ वटा बुलेट सञ्चालन गर्न दिने सहमति गरेको हो।

प्रतिक्रिया दिनुहोस्