अख्तियारको चार महिनामा नौ ‘स्टिङ अपरेसन’



हेटौंडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाले चालु अर्थिक वर्ष ०७५/७६ को पहिलो चौमासिकमा नौ वटा सरकारी निकायमा स्टिङ अपरेसन गरेको छ । तीमध्ये सबैभन्दा बढी चार स्थानीय निकाय छन् ।

 

धोबिनी गाउँपालिका पर्सा, थाहा नगरपालिका, मकवानपुर, नापी कार्यालय गौर र वीरगंज उपमहानगरपालिकामा गरेको अपरेसन गरेको हो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण डिभिजन भैरहवा, श्री जुद्ध उमावि गौर, विद्युत् प्राधिकरण गौर, शिक्षा विकास तथा समन्वय पर्सा र जिल्ला प्रहरी पर्सामा पनि अपरेसन गरिएको अख्तिर कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डेले बताइन् ।

 

नौ ठाउँमा गरिएको अपरेसनका क्रममा १२ जनालाई रंगेहात पक्राउ गर्नुका साथै १६ लाख ८१ हजार नगद र २४ लाख २२ हजार रुपैयाँ बराबरको बैंक भौचर बरामद गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिइन् ।

 

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अख्तियार हेटौंडाले दुई सय ५५ वटा मुद्दा फस्र्यौट गरेको जनाएको छ । यस अवधिमा अघिल्लो आर्थिक वर्षबाट तानिएका दुई सय ७८ सहित थप पाँच सय ५५ वटा मुद्दा दर्ता भएका थिए । विस्तृत अनुसन्धानतर्फ २३ वटा मुद्दा फस्र्यौट भएका र ३३ वटा बाँकी रहेको कार्यालयले जनाएको छ। ‘नियमनकारी निकायबाट प्रभावकारी नहुनु र नीति नियम पालनामा कर्मचारी उदासीन हुनाले भ्रष्टाचार न्यूनीकरणमा चुनौती देखिएको छ’, पाण्डेले भनिन् ।

 

स्थानीय तहमा बढी भ्रष्टाचार

अख्तियारमा सबैभन्दा बढी उजुरी स्थानीय तहको आउने गरेको आयोग हेटौंडाका सूचना अधिकारी देवकुमार राईले बताए । ‘जनप्रतिनिधि, विकास र सामाजिक सुरक्षा भत्ता दुरुपयोगका उजुरी बढी परेका छन्’, उनले भने । साथै चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म दुई सय ४९ बेनामे उजुरी परेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर भीमार्जुन पाण्डेले बताए । उनले भने, ‘सकेसम्म छिटो अनुसन्धान र कारवाही पक्रिया अघि बढाउने गरेका छौं ।’ गत आर्थिक वर्षमा परेका दुई सय ८५ बेनामे उजुरीमध्ये एक सय ७५ वटा उक्त अवधिमै फस्र्यौट भएका कार्यालय जनाएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्