इण्डोनेशिया: भूकम्पपछि सुनामी, दर्जनौँको मृत्यु



शुक्रवार इण्डोनेशियाको तटीय शहरमा ७.५ म्याग्निच्यूडको भूकम्पपश्चात आएको शक्तिशाली सुनामीले कम्तीमा ५० जनाको ज्यान गएको छ।

 

दुई मिटरसम्म उचाइको सुनामीको छाल सुलावेसी टापु हुँदै पालु शहर आएको थियो।

 

सामाजिक सञ्जालमा राखिएका भिडिओमा मानिसहरू आत्तिएर चिच्याइरहेको अनि भागिरहेको देखिन्छ। एउटा मस्जिदमा पनि क्षति पुगेको देखिन्छ।

 

गत महिना, लोम्बोक टापुमा श्रृंखलावद्ध रुपमा विनाशकारी भूकम्पहरू जाँदा अगष्ट ५ तारिखमा सबैभन्दा ४ सय ६० भन्दा बढी मानिसहरूको ज्यान गएको थियो।


क्षति

उद्धारकार्य सुरु भएको छ तर मन्त्रीले शुक्रवार त्यहाँ सञ्चार अवरुद्ध भएको र पालुमा धावनमार्गमा पनि क्षति पुगेको बताएका छन्।

 

उक्त क्षेत्रमा रहेका एएफपी समाचार संस्थाका फोटोग्राफरले कैयौं मानिसहरूको ज्यान गएको बताएका छन्।

 

भूकम्पको क्षतिले मानिसहरूको ज्यान गएको वा सुनामीका कारण भएको भन्ने स्पष्ट भएको छैन।


चेतावनी

सुलावेसीको मध्य भागमा १० किलोमिटरको गहिराइमा स्थानीय समय अनुसार ६ बज्नु केहीबेरअघि भूकम्प गएको अमेरिकाको भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ।

 

सुनामीबारे सुरुमा सतर्क गराइए पनि एकघण्टाभित्रै त्यस्तो सतर्कता फिर्ता लिइएको थियो।

 

भूकम्पको केन्द्रविन्दु रहेको क्षेत्रभन्दा ८० किलोमिटर टाढा रहेको पालु सहरमा समुद्री छालहरूले कैयौं भवनहरू बगाएको र एउटा ठूलो मस्जिद ढल्किएको नाटकीय खालको एउटा भिडिओमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्