पैसा तिर्न नसकेपछि नोबेल अस्पतालले शव दिएन



विराटनगर : नोबेल शिक्षण अस्पतालले झापाको मेचीनगर नगरपालिका ९ की ६५ वर्षीया चन्द्रमाया मगरको शव पाँच दिनदेखि कब्जामा राखेको छ । 

औषधि र उपचारबापतको छ लाख ३३ हजार रुपैयाँ नतिरेको बहानामा अस्पतालले शव आफन्तलाई नबुझाएको हो । पैसा नतिरेसम्म दिन नसकिने अडान राखेपछि आफन्त शव अस्पतालमै छाडेर हिंडेका छन् ।

 

चन्द्रमायाका दाजु डम्बरबहादुर मगरले शव लैजान नसकेपछि परिवार ठूलो तनावमा परेको बताए । ‘आर्थिक अवस्था कमजोर भएका कारण उपचारको पैसा तिरेर शव लैजान सकेनौं,’ उनले भने, ‘अर्कातिर मृत्यु भएसँगै काजकिरिया गर्न नपाएको तनाव पनि थपिएको  छ ।’

उच्च रक्तचापले ढलेपछि कात्तिक ३० गते नोबेलमा भर्ना गरिएकी चन्द्रमायाको टाउकोको मंसिर १ गते शल्यक्रिया गरिएको थियो । डम्बरका अनुसार नसामा रगत जमेको भन्दै चिकित्सकले शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि आइसियूमा राखेर उपचार सुरु गरियो । उपचारकै क्रममा गत बुधबार राति चन्द्रमायाको मृत्यु भएको हो । 

‘न त बहिनीलाई जीवित राख्न सकियो न त मृत्यु भएपछि अस्पतालको पैसा तिर्न पाइयो,’ उनले भने, ‘पैसा तिर्न नसकेपछि अस्पतालले पाँच दिनदेखि शव दिन मानिरहेको छैन । हामीसँग त्यति धेरै रकम तिरेर शव ल्याउन सक्ने अवस्था नै छैन ।’ 

डम्बरका अनुसार चन्द्रमायाको उपचारका लागि सुरुमा अस्पताललाई एक लाख ५० हजार रुपैयाँ बुझाइएको थियो । मृत्यु भइसकेपछि छ लाख ३३ हजार रुपैयाँ तिर्न बाँकी रहेको बिल आयो । उनले औषधिको पाँच लाख २१ हजार र उपचारको एक लाख १२ हजार रुपैयाँ तिर्न बाँकी रहेको बताए ।

अस्पतालभित्रको पसलबाट औषधि खरिद गरेको तीन लाख ४१ हजार र बाहिरको पसलबाट औषधि ल्याएको एक लाख ८० हजार रहेको डम्बरले बताए । 

ज्याला मजदुरी गर्ने चन्द्रमायाको आर्थिक अवस्था एकदमै कमजोर छ । उनका दुई छोरीको विवाह भइसकेको छ । दुई छोरामध्ये जेठा छविलाल वैदेशिक रोजगारीका लागि मलेसियामा छन् भने कान्छा मोहन सिटी सफारी कुदाउँछन् ।

 

चन्द्रमायाका छिमेकी तथा संघीय समाजवादी फोरम नेपाल झापाका जिल्ला सदस्य अम्बर लिम्बूका अनुसार दुवै छोराको कमाइ राम्रो नभएका कारण उनीहरुले अस्पतालमा रकम तिरेर आमाको शव ल्याउन सकेका छैनन् । 

‘उच्च रक्तचापले समस्या पारेपछि स्थानीय बासिन्दा र राजनीतिक दलका नेता कार्यकर्ताको सक्रियतामा पैसा उठाएर चन्द्रमायालाई उपचारका लागि पठाइयो,’ लिम्बूले भने, ‘उठाएर पठाएको एक लाख ५० हजार रुपैयाँले पुगेनछ ।’

 

उनले उक्त रकम मिनाह गरिदिन पटकपटक अनुरोध गर्दा पनि अस्पतालले अस्वीकार गरेको बताए । ‘सबै राजनीतिक दलका नेतादेखि लिएर स्थानीय बासिन्दासम्मले गरेको आग्रहलाई पनि अस्पतालले सुनेन,’ उनले भने, ‘शव ल्याउन नदिएकाले छोराहरुले दाहसंस्कार गरेर आमाको काजकिरियासमेत गर्न पाएका छैनन् ।’ 

एउटा कोठामा राखिएको शवले दुर्गन्ध फैलन थालेपछि अस्पतालको शव गृह मर्मत सम्भार गरेर शवलाई सोमबार त्यहाँ राखिएको छ । चन्द्रमायाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्त र छिमेकीले नोबेल मेडिकल कलेजमा तोडफोडसमेत गरेका थिए । तोडफोडबाट प्रशासकीय अधिकृत नारायण दाहालको कार्यकक्ष र अस्पतालको काउन्टरमा क्षति पुगेको थियो । 

प्रशासकीय अधिकृत दाहालले भने उपचार खर्च मिनाह गर्न अस्पताललाई कुनै गाह्रो नभएको बताए । ‘उपचारबापतको तिर्न एक लाख १२ हजार रुपैयाँमात्रै छ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकालाई यति रकम अस्पतालका तर्फबाट मिनाह गर्न सकिन्छ ।’

 

दाहालले औषधिको रकमचाहिँ धेरै तिर्न भएकाले शव आफन्तलाई दिन नसकिएको बताए । उनले औषधिबापतको रकम तिरेर आए शव लैजान दिने बताउँदै भने, ‘औषधिको पैसा अस्पतालले मिलाउन सक्ने सम्भावना छैन । औषधि पसल सञ्चालकले त्यसै छाड्छन् जस्तो लाग्दैन ।’

 

प्रतिक्रिया दिनुहोस्