आपसी विवादका कारण ढल्केबरमा फेरि खानेपानी समस्या



अमरेशकुमार मिश्रा
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ७ ढल्केवर गाउँमा दुई पक्षबीच आपसी विवादका कारण खानेपानीको समस्या फेरि बल्झिएको छ । यही विवादका कारण उत्पन्न खानेपानी समस्याले ढल्केबरका करिब २ सय ५० घरधुरी केही समययता पिरोलिदै आएका छन् । अबिरल वर्षाले गर्दा ढल्केबरको खानेपानीको मुहान र पाइप बगाएपछि ढल्केबरवासी खानेपानीबाट वञ्चित हुन पुगेका हुन् ।

मुहान बनाउन र पाइप व्यवस्थापन गर्ने कुरामा खानेपानी उपभोक्ता समिति र नगरपालिकाबीच आवश्यक समन्वय हुन नसक्दा समस्या बढ्दै गएको छ । समितिका अध्यक्ष रामवृक्ष साहले खानेपानी समस्या समाधान गर्न नगरपालिकाले चासो नदेखाएको बताउँछन् । नगरपालिकाले चासो नदिएपछि स्थानीय बासिन्दा रकम उठाएर मुहान र पाइप व्यवस्थापन गर्न अघि सरेका थिए ।

कतिपयले नगरपालिका मेयर हरिनारायण महतो र समितिका अध्यक्ष साह फरक–फरक राजनीतिक दलका भएकाले पनि ढल्केबर गाउँको खानेपानी समस्या समाधान नभएको बताउछन् । गत आइतबार उपभोक्तासँग उठाएको रकमको हिसाब सार्वजानिक गर्न बोलाइएको भेलामा झण्डै झडपको स्थिती सृर्जना हुन पुगेको थियो ।

खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा दाबिगरिरहेका योगेन्द्र महतो समितिका पदाधिकारीले साधारणसभा नबोलाई आफ्नो पदावधि थप लम्ब्याउन खोजिरहेकाले आफूहरुले साधारणसभाको माग गरिरहेको बताए ।

तर समितिका अध्यक्ष साह पक्ष भने महतोको भनाइसँग सहमत छैन । उक्त पक्षले नगरपालिकाले खानेपानीका लागि छुट्याएको एक करोड ८० लाख रुपैयाँ बजेटमा सबैले आँखा गाडेकोे आरोप लगाएको छ ।

दुबै समूहबीच विवाद चुलिँदै जाँदा ढल्केबर खानेपानीको समस्या अझै बढ्दै जाने देखिएको छ । विगतमा खानेपानी समस्याकै कारण ढल्केवर विकासमा पछि परेको स्थानीयहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्