आलु पनि भुटानबाट आउँछ नेपालमा



काठमाडौं : कृषि प्रधान देश नेपालले छिमेकी देश भुटानबाट दैनिक उपभोगका लागि आलु आयात गरिरहेको छ । यसरी आयात गरिने आलुको मात्रा हरेक वर्ष बढ्दै गइरहेको छ । कृषिमा सुधार ल्याउनका लागि प्रधानमन्त्री कृषि कार्यक्रसहित अन्य कार्यक्रमहरुको घोषणा भए पनि ती व्यवहारिक रुपमा कार्यान्वयनमा आउन नसकिरहेकाले नेपालीहरुको भान्सामा दैनिक पाक्ने आलुजस्तो तरकारी पनि भुटानबाट आयात हुन थालेको हो ।

नेपालले भुटानबाट आयात गर्ने अन्य कुराहरुमा वस्तु निर्माणका लागि आवश्यक कच्चा पदार्थ बढी रहने गरेका छन् । ती कच्चा पदार्थहरुमा सिमेन्ट उद्योगका लागि चाहिने कच्चा पदार्थ, कोइला, विभिन्न प्रकारका पेय पदार्थ, विद्युतीय उपकरण आदि रहेका छन् ।

व्यापारका लागि नेपाल र भुटानबीच सन् २०१० र २०११ मा भएका पहिलो र दोस्रो व्यापारसम्बन्धी वार्ता पश्चात् करिब ८ वर्षको अन्तरालमा मात्र यसै वर्ष तेस्रो वार्ता भएको छ । तेस्रो वार्तापछि भुटानसँग औपचारिक व्यापार सम्झौताका लागि बाटो खुलेको विज्ञहरुको भनाइ छ ।

भारत लगायतका छिमेकी देशसँग बढ्दो व्यापार घाटा बेहोरिरहेको नेपालले दैनिक उपभोगका सामान आयात गरिने देशहरुमध्ये भूटानसँग पनि वर्षेनी घाटा बेहोरिरहेको छ । आलुसहित अन्य उपभोग्य सामान भुटानबाट आयात गर्दा नेपालले २०७४/०७५को आर्थिक वर्षमा झण्डै एक अर्ब ५५ करोड मूल्यका सामान आयात गरेको थियो । तर, सोही आर्थिक वर्षमा नेपालबाट भुटान झण्डै साढे चार करोड मूल्य बराबरका सामान मात्र निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्