के छ, ओली–प्रचण्डबीच गोप्य समझदारीमा ?



काठमाडौं :उपचारका लागि सिंगापुर पुग्नु अगाडि पार्टीको आन्तरिक समिकरणमा ‘यूटर्न’ ल्याएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टी भित्र बलियो रुपमा देखा परेका छन् ।

एकाएक यस्तो अवस्था कसरी आयो ? खास–खास बेलामा साथ दिँदै आए पनि ओलीसँग तीव्र आक्रोशित भएका नेकपा नेता बामदेव गौतमलाई मात्र होइन् दूरी बढाउँदै गएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाललाई समेत आफ्नो पक्षमा तान्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली कसरी सफल भए त ? यो कौतुहलको विषय भएको छ । यस विषयमा अनेक अड्कल बाजी र अनुमान गरिएको छ ।

नेकपाका विशेष स्रोतका अनुसार ओलीले पछिल्लो समयमा पार्टी र सरकार सञ्चालनमा नतिजा ल्याउने गरी काम गर्नको लागि फूकि–फूकि अत्यन्तै चलाख पूर्ण ढंगले आफ्नो योजनाहरु कार्यन्वयनमा ल्याइरहेका छन् ।

यसैको पछिल्लो उदाहरण हो, पार्टी भित्रको आन्तरिक समिकरणमा व्यापक उथलपुथल । नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष ओलीले समग्र बस्तुस्थितिको मूल्यांक गरी कदम चाल्दै अर्का पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल र गौतमसँग छुट्टाछुट्टै वार्ता गरी आफ्नो साथमा ल्याइ आफ्नो योजना कार्यान्वयन गराएका छन् ।

पार्टीका युवा तथा लोकप्रिय नेता योगेश भट्टराईलाई पर्यटन मन्त्री बनाउनदेखि पार्टीमा निकै रस्साकस्सी भएको स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेललाई ल्याएर ओलीले आफ्नो योजना कार्यान्वयन गरेको सन्देश प्रवाह गरेका छन् ।

त्यसैगरी पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको वान–टू–वान वार्तापछि प्रचण्ड समेत ओलीलाई बोकेर हिड्न थालेका छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीच केही गोप्य समझदारी भएको छ । जुन समझदारी सार्वजनिक नगर्ने सहमती भएको समेत बताइन्छ । स्रोतले बताएअनुसार मूलरुपमा ओलीले पार्टीको अध्यक्षका हैसियतले पार्टीको नितीगत विषय हेर्ने छन् भने बैठक आयोजनादेखि पार्टीका सम्पूर्ण काम प्रचण्डले गर्ने सहमती भएको छ । साथै पार्टी काम प्रचण्डले हेर्ने र पाँच वर्षसम्म ओलीले नै सरकार चलाउने सहमती पनि दुई अध्यक्ष बीच भएको छ ।

अध्यक्ष प्रचण्डलाई सघाउने गरी नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव आएको हो । त्यस्तै गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ बाट चुनावमा उठाइ एक पटक प्रधानमन्त्री बनाउने सहमती पनि गरेको बताइन्छ ।

उता तत्कालिन एमालेका पूर्व अध्यक्ष झलनाथ खनाललाई वरियतामा अघि ल्याएर भावी राष्ट्रपतिको रुपमा अघि सार्ने संकेत ओलीले दिएका छन् ।

दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनमा अझ प्रभावकारी काम गर्ने गरी केही एजेण्डामा समेत सहमती भएको छ । जुन सहमती अनुसार ओली उपचारबाट स्वदेश फर्केपछि जनता र कार्यकर्ताले अनुभुत गर्ने गरी परिणाममा देखिने एक नेताले बताए ।

वरिष्ठ नेता खनाल गौतमलाई कास्की दुईबाट उठाउने विषयलाई नकादैनन् । खनाल भन्छन्–यो विषयमा सचिवालयमा चर्चा भइरहेको छ । उहाँ संसदमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नेता हो । सचिवालयले उहाँलाई संसदमा ल्याउनुपर्ने आवश्यकता महशुस गरेको छ । तर, निर्णय चाहि भएको छैन । त्यस्तै पार्टी र सरकार सञ्चालनमा केपी कमरेडले सरसल्लाह गर्नु जिम्मेवारी बाँडफाँड गर्नु स्वभाविक प्रक्रिया हो ।

उता पार्टी महासचिव विष्णु पौडेल पार्टीको पछिल्लो समिकरणका विषयलाई स्वभाविक मान्छन् । उनी भन्छन्–कमरेड प्रचण्ड हाम्रै अध्यक्ष हुनुहुन्छ । दुई जना अध्यक्ष बसेर पार्टी र सरकारका विषयमा छलफल गर्ने, आवश्यक निर्णय लिने स्वभाविक प्रक्रिया हो । प्रधानमन्त्री सरकार सञ्चालन र अन्य महत्वपूर्ण काममा रहनुपर्दा आपसी परामर्समा अध्यक्ष प्रचण्डले प्रधामन्त्री काठमाडौं रहँदा पनि अबका दिनमा पार्टीका बैठक र अन्य कामहरु गर्न सक्नुहुन्छ ।

त्यस्तै गौतमलाई कास्कीबाट उठाउने सम्बन्धमा पार्टी महासचिव पौडेलले पार्टीले आवश्यक ठान्यो भने उहाँलाई निर्णय गर्न सक्ने बताउँदै भने–अहिलेसम्म न उहाँले इच्छा व्यक्त गर्नुभएको छ न त पार्टीले नै निर्णय गरेको छ । आवश्यक पर्यो भने पार्टीले निर्णय गर्छ ।

नेकपा भित्र देखिएको पछिल्लो समकिरणबाट नेता माधवकुमार नेपाल भने विच्किएका छन् । ओलीको पछिल्लो योजनाबाट आक्रोशित भएका नेता नोट अफ डिसेन्टदेखि बैठकमा समेत आफ्नो आक्रोश पोखेका हुन् । केही समय अघिसम्म अध्यक्ष प्रचण्डसँग मिलेर अध्यक्ष ओलीलाई कर्नरमा पार्ने योजना बनाइरहेका नेपाललाई पछिल्लो समिकरणले झड्का दिएको छ । नौ सदस्य नेकपा सचिवालयमा अहिले अध्यक्ष ओलीका पक्षमा प्रचण्डसहित छ जना छन् भने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’बीचमा देखिएका छन् ।

बादल भने भित्रि रुपमा ओलीका योजनालाई साथ दिँदै आएको बताइन्छ । यो अवस्थामा नेपाल भने एक्लै देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्