प्रसूति केन्द्र स्थापना



म्याग्दी : बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

“मातृ शिशु मृत्युको जोखिम घटेको छ”, वडाध्यक्ष रावलले भने, “नगरपालिकाको सहयोगमा पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेपछि प्रसूति केन्द्र सञ्चालन भएको हो ।” वडा कार्यालयको पहलमा नगरपालिकाले प्रसूति केन्द्र स्थापनाका लागि भवन र उपकरणको व्यवस्थापन गरेको छ । “बर्थिङ सेन्टरका लागि बनाइएको भवन साँघुरो भएकाले त्यहाँ कार्यालय र विपद् व्यवस्थापनका लागि बनेको भवनमा बर्थिङ सेन्टर स्थापना गरिएको हो”, उनले भने, “बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने सबै उपकरण खरीद गरिएको छ ।”

गत आर्थिक वर्ष २०७५÷७६ मा बर्थिङ सेन्टरको भवनलाई रु एक लाख, विपद् व्यवस्थापनको भवनलाई रु पाँच लाख र उपकरण खरीद गर्न रु एक लाख बजेट विनियोजन गरिएको थियो । तालीमप्राप्त जनशक्ति भए पनि पूर्वाधार र उपकरण नहुँदा प्रसूति सेवा सञ्चालन हुनसकेको थिएन । स्वास्थ्यचौकीमा हाल एक तालीमप्राप्त स्वास्थ्यकर्मी भएका र नगरपालिकाले थप एक कर्मचारी खटाएपछि चौबीसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गर्न सकिने स्वास्थ्यचौकीका प्रमुख दिनेश जिसीले जानकारी दिए । उनका अनुसार रत्नेचौरमा सुत्केरी हुनेको सङ्ख्या वार्षिक सरदर ५० जना छ ।

उनीहरू यसअघि सुत्केरी हुन बेनी, बागलुङ, कुश्मा र पोखराका अस्पताल जाने गरेका थिए । प्रसूति हुनका लागि लाखौँ खर्च हुने गर्दथ्यो । कमजोर आर्थिक अवस्था भएका गर्भवती घरमै असुरिक्षत रूपमा बच्चा जन्माउन बाध्य थिए । सदरमुकामदेखि नजिकै भएर पनि रत्नेचौरमा बर्थिङ सेन्टर स्थापना हुनसकेको थिएन । घरमै सुत्केरी हुनुलाई मातृ शिशु स्वास्थ्यका हिसाबले जोखिम मानिन्छ । बर्थिङ सेन्टरबाट रत्नेचौर, उपल्लाचौर, अर्जम, भकुण्डेका गर्भवतीलाई पनि सुविधा पुग्ने जनाइएको छ । बर्थिङ सेन्टरको सोमबार सांसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्