विद्यार्थी संगठनद्वारा ठाकुरराम क्याम्पसमा तोडफोड तथा आगजनी



वीरगञ्ज : तराईको एक मात्र जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसमा आज (मंगलबार) विभिन्न पार्टीमा आबद्ध विद्यार्थी संगठनहरुले तोडफोड तथा आगजनी गरेका छन् ।

यही २० गतेबाट सुरु हुने प्रथम वर्षको परीक्षा केन्द्र अन्तै सारेको विरोधमा मधेशवादी आवद्ध समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ तथा कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले क्याम्पसमा तोडफोड र आगजनी गरेका हुन् ।

क्याम्पस प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका प्रथम वर्षका अंशिक परिक्षार्थीहरुले शंकास्कापद रुपले परीक्षा केन्द्र हरि खेतान क्याम्पस तोकेकोविरुद्ध आन्दोलित भएका हुन् । परीक्षा केन्द्र सारिएको विरोधमा प्रदर्शनमा उत्रेका विद्यार्थीहरुसँग भएको वार्ता असफल भएपछि आक्रोशित विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गर्नुका साथै आगजानी गरेको समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष शशिकान्त सर्राफले बताए ।

उनीहरुले निमित्त क्याम्पस प्रमुख हरेराज यादवको कार्यकक्षको फर्निचर तथा काजगपत्र निकालेर क्याम्पस परिसरमा ल्याएर आगजनी गरेका हुन् । आगजनीबाट टेबुल, कुर्सी, दराजलगायतका फर्निचर तथा क्याम्पसका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

क्याम्पसको परिक्षा प्रणाली परिवर्तन भई सकेको छ, शिक्षामा गुणस्तर भएको छैन उपाध्यक्ष सर्राफले भने,-‘क्याम्पसमा अध्ययन, अध्यापनमा व्यापक अनियमितता छ यसमा प्रशासनले सुधार ल्याउदैन परीक्षा केन्द्र सारेर मात्र हुँदैन । क्याम्पसमा लाईब्रेरीको समस्या जस्ताको त्यस्तै छ, भौतिक पूर्वाधार विकासमा भ्रष्टाचार चरणसिमामा छ, यसमा सुधार हुनुपर्ने विद्यार्थीहरुले अडान लिएका छन् । क्याम्पस प्रशासनले विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्न पाउदैन । गुणस्तरीय शिक्षा ल्याउँन बारम्बार चेतावनी दिँदा समेत सुनवाई नभएपछि विद्यार्थी संगठनहरुले आन्दोलनमा उत्रिनु परेको हो ।’

‘क्याम्पस प्रशासनले हजारौँ विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्दै छ, क्याम्पसमा पढाईको स्तर घटेर शून्यमा झरेको छ,’ सर्राफले भने, ‘तर पनि क्याम्पस प्रशासनलाई मतलब छैन ।’

उनले क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुसँग छलफल नगरीनै परीक्षा केन्द्र अन्तै सारेको विषयले पनि विद्यार्थीहरु झन आक्रोश भएका छन् ।

आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रशासनका सम्पूर्ण शाखामा तालाबन्दी समेत गरेका छन् । उनले क्याम्पस प्रशासनले विद्यार्थीहरुको सम्पूर्ण माग पूरा नगरेसम्म तालाबन्दी नखोलिने चेतावनी दिएका हुन् ।

आन्दोलनमा नेपाल विद्यार्थी संघका मुनराज तिवारी, समाजवादी विद्यार्थी युनियनका एकाई अध्यक्ष हरिन्द्र साह, राष्ट्रिय विद्यार्थी संघका ठाराब अध्यक्ष अमित यादव, अनिश कुशवाह, विवेक झा, सागिर अली लगयातको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्