डोरियन आँधीबाट बहमासमा पाँचको मृत्यु



एजेन्सी : संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दुमा पारेर आएको डोरियन नामको आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिए । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।

बहमासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मिन्निसले भन्नुभयो, रोयल बहमास प्रहरीले अबाकोबाट पाँच जनाको शव बरामद गरेको छ ।

मौसमविद्ले डोरियन आँधीलाई आइतबार पाँचौं श्रेणी (क्याटेगोरी फाइभ)मा राखेका थिए । राष्ट्रिय आँधीसम्बन्धी केन्द्र (एनएचसी)का अनुसार मंगलबारका लागि यो आँधी केही मत्थर भएर तेस्रो श्रेणीमा पुग्नेछ ।

अमेरिकी प्रक्षेपणकर्ताका अनुसार आँधीले बहमासमा मंगलबार पनि क्षति गर्न सक्नेछ ।

ग्रान्ड बहमाकी निवासी एक महिला केन्ड्रा विलियम्सले एएफपीलाई भने, यहाँ जताततै पानी छ । हामी घरको छानामा बसेका छौँ । कसैले हामीलाई उद्धार गर्न सक्ला ? कृपया सहयोग गर्नु न है । म, मेरा छ जना नातिनातिना र मेरो छोरा सबै छतमा छौं ।

अमेरिकाको फ्लोरिडामा पनि डोरियन आँधीको प्रभाव देखिँदैछ । यहाँ भारी वर्षा र तीव्र वेगको हावा चल्ने प्रक्षेपण गरिएको छ । मायामीस्थित एनएचसीका अनुसार मंगलबार यहाँ टोर्नाडो (भिषण आँधी)को सम्भावना पनि छ ।

फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । दुई बालबच्चा र आमासहित शिविरमा आइपुगेकी ३० वर्षीया स्टेफानी पासिक्सले भने, म यहाँ हिजो आइपुगें । आपतकालीन स्थितिको घोषणा गरेका कारण हामी यहाँ आइपुगेका हौं ।

“मेरो बुबा घरमा बिरालोको हेरचाहमै हुनुहुन्छ, तर हामी भाग्यौं । उहाँ त कहिले पनि घर छाड्नु हुन्न । उनलाई शिविरमा बस्न मन लाग्दैन,” पासिक्सले भने ।

मौसम पूर्वानुमान विभागका अनुसार यो आँधीले अमेरिकी पूर्वीतटीय राज्य फ्लोरिडासहित जर्जिया र दक्षिण क्यारोलिना राज्यमा प्रभाव पार्नेछ । यी राज्यका आँधी प्रभावित इलाकाका मानिसका लागि अस्थायी शिविरको व्यवस्था गरिएको छ ।

एक अनुमानअनुसार आँधीबाट झण्डै १० लाख मानिस प्रभावित हुनेछन् । उत्तर क्यारोलिना र भर्जिनिया राज्यले पनि आपतकालीन स्थितिको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्