राजपालाई सरकारको कडा जवाफ



काठमाडौं : संविधान जारी भएको दिनलाई संविधान दिवसको रुपमा नमनाइ विरोध दिवस गर्ने निर्णय गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारले कडा जवाफ दिएको छ । सरकारका एक प्रभावशाली मन्त्रीले ट्वीटमार्फत राजपाको निर्णय प्रति असन्तुष्टि जनाउँदै राजपाको ध्यानाकर्षण समेत गराएका छन् ।

संविधान जारी भएको दिन ३ असोज मा विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ भने सरकारले संविधान जारी भएको दिन संविधान दिवस मनाउने तयारी गरिरहेको छ ।

राजपाले उठाउँदै आएको मुद्दा संशोधन गरेर माग सम्बोधन नभएकाले सो दिन विरोध दिवसकै रुपमा मनाउने निर्णय भएको छ । राजप नेपालको मंगलबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले देशैभरी विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले ३ असोजलाई विरोध दिवसको रुपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिने निर्णय भएको बताए । तर कार्यक्रमको स्वरुप कस्तो हुने र के के हुने भन्ने बारेमा पार्टीले सार्वजनिक गरेको छैन ।

सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजपाको निर्णयपछि त्यसको जवाफमा ट्टीव गर्दै भनेका छन्–‘बारामा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा राजपाको निर्णयको पहिलो बुँदाको भावनाप्रति सम्मान व्यक्त गर्दछु भने दोस्रोले समय, सन्दर्भ र राष्ट्रिय भावनालाई बोक्न नसकेको प्रति राजपाको ध्यानाकर्षण गराउदछु ।’

विमानस्थल निर्माणमा प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न, अनावश्यक रुख कटानी नगर्न, वनस्पति एवं वन्यप्रणालीको विनास रोक्न, वन्यजन्तुको विवरण एवं आवागमन पथलाई वाधा पुग्ने लगायतका त्यस वनमा निर्भर जनतालाई पानीको समस्या,नदीनालाको बिनास र समग्र पर्यावरणीय प्रभाव मूल्यांकन गरी प्रस्तावित बारा अन्तर्राष्ट्रिय विमानस्थल द्रूतगतिमा सिघ्र निर्माण गर्न राजपाले माग समेत गरेको छ । राजपा नेपालले कुनै पनि नाम, बहाना, वा कुनै कारण देखाएर अन्यत्र वा अन्यथा गर्ने उद्देश्य नभएको जनाएको छ । बारा अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्नुपर्नेमा पार्टी प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्