चर्चामा आउँदै उदयपुर प्याराग्लाइडिङ



काठमाडौं : आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने नीति र योजनासहित उदयपुर जिल्लामा प्याराग्लाइडिङ सुरु गरिएको छ । व्यवस्थापनका अनुसार ‘वृहत् पर्यटन विकास’ कार्ययोजनासहित सुरु गरिएको उक्त उडान सराङकोट प्याराग्लाइडिङलाई पछ्याउँदै अगाडि बढ्ने छ । स्थानीय स्तरमा आर्थिक समृद्धि हासिल गर्नका लागि आवश्यक आर्थिक स्रोतमध्ये प्रथम प्राथमिकतामा राखिएको यस प्याराग्लाइडिङ सेवाले वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

आरम्भ गरिएको प्याराग्लाइडिङ सेवाले पर्यटकलाई बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी बगरमा अवतरण गराउने छ । समुद्री सतहदेखि दुई हजार मिटरको उचाइबाट सप्तकोशीको बगरमा ओर्लंदा अनुभूत हुने असीम आनन्दले यसक्षेत्रलाई प्याराग्लाइडिङ ‘हब’को रूपमा विकास गर्न मद्दत पुर्याउने व्यवसायीको भनाइ छ । उडान भर्दा कुनै पनि समस्या र असजिलो नआओस् भनेर पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकिएकाले पर्यटन उद्यमी निकै ढुक्क र विश्वस्त देखिन्छन् ।

उडानका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र व्यवस्थापन कार्य युद्धस्तरमा भैरहेको छ । बेलका प्याराग्लाइडिङ सङ्घ, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एशियन प्याराग्लाइडिङ समूहको संयुक्त आर्थिक लगानी र पहलमा तयारीका सबै काम अघि बढिरहेका छन् ।

नेपालका ठूला सहरदेखि छिमेकी देश भारतको दार्जिलिङ, विहार, पश्चिम बङ्गाल तथा अर्को छिमेकी देश भूटानसम्मका पर्यटकहरुलाई उदयपुर प्याराग्लाइडिङले आकर्षक सेवा र मनोरञ्जन प्रदान गर्ने प्याराग्लाइडिङ उद्यमीहरुको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्