‘गौरा आयो गयो, दौरा लाउन पाइएन’



दार्चुला : शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिक रामपति भट्टका लागि यसपालिको गौरा पर्व निकै नै खल्लो महसुस भयो । कारण एउटै थियो, गौरा पर्वमा दौरा सिलाएर रमाइलो हेर्न जाने र दौंतरी मिल्दा साथीहरुसँग नाचगान गर्ने । तर गौराका लागि दौरा सिलाउन नपाउँदा उनको मन कटक्क काटियो नगरपालिकासँग ।

नगरपालिकाले हरेक चार महिनामा वितरण गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता यसपटक समयमै उपलब्ध गराएन । यसले ज्येष्ठ नागरिकमा निराशा ल्याएको छ । नगरपालिकाले समयमै ध्यान नदिएर लापरवाही गरेपछि यहाँका सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ नागरिक दलित, गैरदलित, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, विधवा महिला, दलित बालबालिका, लोपोन्मुख आदिवासीलगायत कसैले पनि सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित भए ।

शैल्यशिखर नगरपालिकाका गोपी भट्ट भन्छन् – ‘विगतमा गाविस, जिविस हुँदा सहजरूपमा भत्ता पाइन्थ्यो, अहिले गाउँमै सिंहदरबार आएपछि सामाजिक सुरक्षाभत्ता पाउन सकस भयो ।’ सामाजिक सुरक्षाभत्ता बैंकमार्फत् वितरण गर्ने भएपछि यस्तो समस्या देखिएको हो ।

नगरपालिकाले सुझाएअनुसार ज्येष्ठ नागरिक सुरक्षा भत्ता लिन आफै वैंकमा पुग्नु पर्ने भएकाले उनीहरु थप कठिनाइ महसुस गर्न थालेका छन् । घरको आँगन पनि तीर्थ बराबर हुँदै गएको बूढेसकालमा दूरदराजका गाउँहरुबाट सदरमुकाममा रहेका वैंकमा जान निकै कठिन भएको उनीहरुको भनाइ छ ।

एक त टाढाको उकाली ओराली बाटो, अर्को निर्बल शरीर, लिन र लैजानका लागि घरमा छोराछोरी छैनन्, गाउँ युवाविहीन छ । छिमेकीसँग सहयोग याचना गर्ने ठाउँ पनि छैन । हालत सबैको उस्तै ।

कसैका हातमा चेक थमाएर पठाउँदा पनि बूढेसकालमा हात काँप्ने हुनाले सही नमिल्दा रकम निकासा नदिने गरेकाले उनीहरुमा चिन्ता थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्