भाइरल ज्वरोको भुंग्रोमा जलेश्वर कारागार



काठमाडौं : जलेश्वरको कारागारमा राखिएका बन्दीहरुमध्ये एक चौथाई भाइरल ज्वरोले ग्रस्त भएका छन् । एक जमानामा महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार अहिले पनि संयुक्त जेलकै रुपमा रही आएको छ । त्यहाँ अहिले पनि क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीलाई राखिएको छ ।

वर्षायामसँगै बढेको गर्मी, कैदीबन्दीको चाप, सफा पिउने पानीको अभाव, सरसफाइका लागि पानीको कमी, गुणस्तरहीन सिदाचामल तथा बेलैमा उपचार नह्ुनुको कारणले एकचौथाई कैदीबन्दी भाइरल ज्वरोबाट ग्रस्त बनेका छन् । भाइरल ज्वरो आफैमा सरुवा रोग भएकाले अन्य कैदी बन्दीहरु पनि क्रमशः संक्रमित हुँदै गइरहेका छन् ।

मुद्दा फैसला भई राखिएका कैदी बन्दीहरुसहित म्यादी थुनुुवा पनि राखिने गरिएकाले जलेश्वर कारागार निकै भिडभाड रहिआएको छ । हाल ५ सयभन्दा बढी कैदीबन्दीहरुको चाप भोगिरहेको जलेश्वर कारागार चर्को गर्मीका कारण बैदीबन्दीहरु दैनिक रिंगाटा लाग्ने, उल्टी हुने, बेहोश हुने तथा छटपटाउने आदि समस्याबाट पीडित भइरहेका छन् ।

कारागारका कैदीबन्दीहरुलाई सकेसम्म अस्पताल बेडमा भर्ना नगराउने गर्दै आएको जलेश्वर कारागार प्रशासनको रबैयाले पनि कारागारभित्र रोग सार्नमा पूरकको भूमिका निर्वाह गरिरहेको कैदीबन्दीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्