डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो



हेटौँडा : प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिएका थिए ।

मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि सरल र छरितो स्वास्थ्य उपचारसेवा प्रदान गरेको पाएको बताए ।

“कम्प्युटर प्रणालीबाट टिकट काट्ने, बिरामीको ल्याबको रिपोर्ट बिरामीकै इमलेमा आउने जस्ता सहजताले अस्पतालमा सुधार हुँदै गएको देखिन्छ”, उनले भने, “अहिले हरेक श्ययामा अक्सिजनको पाइप पुगेकाले उपचारमा थप सहजता भएको छ ।”

मन्त्री दुलालले अस्पतालले सरसफाइमा अझै ध्यान दिनुपर्ने बताए । उनले अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, शल्यक्रिया कक्ष आदिको निरीक्षण गर्नुभएको अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताए ।

डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढेपछि सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गरेका हुन ।
हेटौँडा अस्पतालमा हाल आकस्मिक कक्षमा प्रतिश्यया दुई जनाका दरले बिरामीलाई राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्