आर्थिक प्रगतिसम्बन्धी अन्योल



के हामीलाई अर्थतन्त्रको विकास कसरी हुन्छ भन्ने थाहा छ ? पक्कै थाहा छैन, थाहा भइदिएको भए त हरेक राष्ट्रको आर्थिक प्रगति हाल भइरहेको भन्दा राम्रो हुनुपथ्र्यो । साँच्चै भन्ने हो भने सन् १९६० दशकको सुरुवातमा जापान र त्यसको एक दशकपछि अन्य दक्षिणपूर्वी एसियाली राष्ट्रमा कायम भएको तीव्र वृद्घिदर एकदमै दुर्लभ मानिन्छ । त्यसैले, यसलाई ‘आर्थिक चमत्कार’ भनेर पनि व्याख्या गर्ने गरिएको छ । 

सफ्टवेयर पूर्वाधार कम्पनी स्ट्राइपका प्याट्रिक कोलिसन एवं जर्ज म्यासन युनिभर्सिटीका टेलर कोवेनले अमेरिकाबाट प्रकाशित हुने पत्रिका ‘द एटलान्टिक’मा प्रविधिगत प्रगति तथा समृद्धिसम्बन्धी एउटा नयाँखाले ‘इन्टरडिसिप्लिनरी’ ‘प्रगति विज्ञान’को अपिल गर्दै लेख लेखे । सो लेखले प्रज्ञिक समुदायमाझ आक्रोशपूर्ण बहस सतहमा ल्याएको छ । 

धेरैले कोलिसन एवं कोवेनले ‘प्रगति अध्ययन’मा समाविष्ट गर्न प्रस्ताव गरेका सिद्धान्त वा व्यवहारहरू अनगिनत प्राज्ञिक एवं व्यावहारिक अनुसन्धान तथा खोजले पहिले नै सम्बोधन गरिसकेको औँल्याएका छन् । अहिले, अर्थशास्त्रीहरूको समूह सिलिकन भ्यालीजस्ता ‘प्रविधि पुञ्ज’हरूको पछाडिका रहस्यहरू के हुन्, प्रविधि क्रान्तिपछि किन औद्योगिक क्रान्ति भयो, किन केही संगठनहरू अधिक उत्पादनशील एवं नवप्रवर्तक छन् भन्नेजस्ता विषयहरूमाथि अनुसन्धान गर्दै छन् । हालै मात्रै युनिभर्सिटी अफ अक्सफोर्डकी गिना नेफले ट्विटमा औद्योगिक क्रान्तिले समाजशास्त्रलाई (प्रविधिको समाजशास्त्र) जन्म दिएको प्रतिक्रिया व्यक्त गरिन् । यसलाई उनले ‘प्रगति अध्ययन’ भाग १ नामाकरण गरेकी छिन् । 

यी सबै कुरा सत्य हुन्, तर कोलिसन एवं कोवेनको चासो यसभन्दा केही भिन्न छ । बारम्बार प्राज्ञिक अनुसन्धाताहरूलाई अन्तरविधागत ‘इन्टरडिसिप्लिनरी’ अनुसन्धानात्मक कार्यका लागि आह्वान गरिए पनि विभिन्न विषयका विधागत सीमामा एकसाथ बाँधिएर अनुसन्धान गर्न उनीहरूले कठिनाइ महसुस गरेका छन् । एकदमै विशिष्टीकृत एवं साँघुरो क्षेत्रको अनुसन्धानमा सहुलियत पाइने हुँदा उनीहरू सोही क्षेत्रमा विज्ञता हासिल गर्न प्रेरित हुने भएकाले पदोन्नति तथा पेसागत सम्मान बढ्नेखालका अनुसन्धान प्रकाशन गर्न थप सक्षम बन्छन् । एउटा पुरानो भनाइ छ, विश्वमा थुप्रै समस्याहरू छन्, तर विश्वविद्यालयहरूमा चाहिँ विभागहरू छन् । अर्थात् प्राज्ञहरूलाई विश्वको समस्यासँग होइन, विभागको रोजगारीसँग मतलब छ । त्यसैले, मेरो र नेफकोजस्तो अन्तरविधागत अनुसन्धान संस्थाहरूले अन्तरविधागत खोज तथा अनुसन्धान गरिरहेका हाम्रा युवा सहकर्मीहरूको ‘करिअर’ यसै क्षेत्रमा कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्नेबारे विचार गर्न आवश्यक छ । सरकारमा पनि यस्तै प्रकारका अन्तरविधागत समस्याहरू आइरहन्छन्, त्यहाँ पनि ती समस्याप्रति संवेदनशील विज्ञहरूको साटो आफ्नो करिअर र लाभकै मात्र चिन्ता गर्ने विभागहरू छन् र तिनैले समस्याहरूको व्यवस्थापन गर्छन् । 

२१औँ शताब्दीको सुरुवातताका टेक्नोक्र्याट्स, खासगरी अर्थशास्त्रीहरू आफ्नो गुँडमा आरामसँग बसेर शासन सञ्चालन गर्थे । धेरैजसो नीतिगत निर्णयको अधिकार केन्द्रीय बैंकजस्ता स्वतन्त्र विज्ञ इकाइहरूलाई प्रत्यायोजित हुन्थ्यो । त्यसैले, सन् २००८ को विश्वव्यापी वित्तीय संकट निम्तियो । धेरैको वास्तविक आम्दानी घट्दा हतास भएर आत्महत्या गर्नेको दर बढ्यो । फलस्वरूप, विज्ञहरूमाथि नागरिकहरूको भरोसा कम भयो ।

यसैक्रममा, अनुसन्धानको यसप्रकारको प्रवृत्तिले विशिष्ट क्षेत्रहरूमा मात्रै अनुसन्धाताहरूलाई केन्द्रित बनाउने सम्भावना रहन्छ । एउटा उदाहरण हेरौँ, हुनत कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी नैतिकताको सवाल एउटा महत्वपूर्ण विषय हो, तर एआइ र नैतिकताकै क्षेत्रमै पनि यो वास्तवमै आज अनुसन्धानको प्रधान विषय हो त ? प्रविधि कम्पनीहरूको व्यवसायको प्रारूपमा सम्मिलित वित्तीय लाभ एवं सहुलियतहरूको व्याख्या तथा विश्लेषणबाट ती कम्पनीको व्यवहार बुझ्न सकिन्छ । मलाई त यो नैतिकताजत्तिकै महत्वपूर्ण छ । 

साथै, केही महत्वपूर्ण आर्थिक प्रश्नहरूको पनि राम्रोसँग खोज भएको छैन । उदाहरणका लागि, कार्ल फ्रेले उनको पछिल्लो पुस्तक ‘द टेक्नोलोजी ट्र्याप’मा मौलिक औद्योगिक क्रान्तिले वास्तविक कामदारमा पारेको नकारात्मक प्रभावहरूतर्फ औँल्याएको छ । त्यसमा उनले स्वचालनले भविष्यमा रोजगारीमा पार्ने प्रभाव सम्बन्धमा आफ्नो निराशाजनक दृष्टिकोणलाई विस्तारपूर्वक प्रस्तुत गरेका छन् । तथापि, फ्रेले २०औँ शताब्दीको ‘मास प्रडक्सन’को समयमा समृद्धिको व्यापक विस्तार भएको साथै उच्च रोजगारी रहेको उल्लेख गरेका छन् । औद्योगिक क्रान्ति र स्वचालनको युगबीच यत्रो ठूलो अन्तर केले पारेको होला ? 

सामान्यतः अनुसन्धानका नतिजाहरूमा माथि उल्लेख्य प्राज्ञिक बिमतिहरू छन् भने अनुसन्धाताले आफ्ना खोजीहरूलाई नीतिनिर्माताले सहजै बुझ्न सक्ने गरी प्रशोधन गर्नुपर्ने हुन्छ । त्यसो गरिएन भने त्यसमा अमल गर्नुपर्ने निर्णयकर्तालाई द्विवधा हुन सक्छ । नागरिकहरूले प्रज्ञिक अनुसन्धानमाथि व्यापक मात्रामा विश्वास गरे तापनि अधिकांश अनुसन्धाताहरू कमजोर सञ्चारक हुन् । यसबाहेक, केही राजनीतिज्ञहरू पनि प्रमाण खोज्छन् । त्यसैगरी, खुला–विचार भएका अधिकारीहरूसमेत प्रायः ज्ञानको सवालमा प्राज्ञिक विज्ञतालाई सहजै पचाउन सक्दैनन् । उनीहरू नवीन विज्ञान तथा प्रविधिसँग जोडिएका प्रश्नहरूमा समेत विज्ञको धारणालाई सहजै स्वीकर गर्न हिचकिचाउँछन् । 

आजकाल, चाहे सरकारी अधिकारी, व्यापारी वा नागरिकहरू नै किन नहोस् उनीहरूको व्यवहारमा परिवर्तन ल्याउन अनुसन्धानले भूमिका खेलेको छ । यो पश्चिमा लोकतन्त्रमा बढ्दो वैधता संकटकै एक हिस्सा हो । एक्काइसौँ शताब्दीको सुरुवातताकाका टेक्नोक्र्याट्स, खासगरी अर्थशास्त्रीहरू आफ्नो गुँडमा आरामसँग बसेर शासन सञ्चालन गर्थे । धेरैजसो नीतिगत निर्णयको अधिकारचाहिँ केन्द्रीय बैंकजस्ता स्वतन्त्र विज्ञ इकाइहरूलाई प्रत्यायोजित हुन्थो । त्यसैले, सन् २००८ को विश्वव्यापी वित्तीय संकट निम्तियो । धेरैको वास्तविक आम्दानीमा कमी आएकाले हतास भएर आत्महत्या गर्नेको दर बढ्यो । फलस्वरूप, विज्ञहरूमाथिको नागरिकहरूको भरोसा उठ्यो ।

यसले ‘प्रगतिको विज्ञान’तर्फको यात्राको अन्तिम बिन्दुतर्फ डोर्‍याएको छ । हामी ‘प्रगति’ भन्नाले के बुझ्छौँ ? यसलाई कसरी मूल्यांकन र मापन गरिनुपर्छ अनि यसको अनुभव कसले गर्छ ? यी प्रश्नहरूको उत्तर प्रगति विज्ञानले खोज्नेछ । थुपै कारणबाट, ‘जिडिपी’मा वास्तविक वृद्धि मापन गर्ने मानक सूचकबाट नागरिकको जीवनमा महत्व राख्ने थुप्रै कुरा बाहिर छन् । अब लामो समयसम्म यसरी चल्दैन । 

प्रगतिसम्बन्धी विवादले त्यसैकारण हामीले कस्तो समाज चाहेको हो भन्नेबारे गहन राजनीतिक तथा दार्शनिक सवालहरू खडा गरेका छन् । यदि विश्व अर्थतन्त्र मन्दीमा फस्यो भने (यसको सम्भावना देखिएको छ) सामाजिक विभाजन एवं राजनीतिक ध्रुवीकरण थप गहिरो बन्दै जानेछ । नयाँ शताब्दीले दिएको स्पष्ट सन्देश के हो भने यदि अधिकांश व्यक्तिले प्रगतिको अनुभव गरेनन् भने समाजले वास्तवमा प्रगति गरिरहेको हुँदैन । 

नयाँ प्रविधि, नवप्रवर्तन–अर्थशास्त्र एवं व्यवस्थापनको गुणस्तरले पारेको प्रभावसम्बन्धी ताजा प्राज्ञिक अनुसन्धानहरूले थप अन्योल सिर्जना गर्न त सक्नेछन्, तर आर्थिक प्रगतिसम्बन्धी अधिकांश महत्वपूर्ण प्रश्नहरू भने अनुत्तरित नै रहने छन् । कैयौँ सवाल त अहिलेसम्म सही ढंगले उठ्नै बाँकी पनि छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा डायने कोयलले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्