उग्र अभिभावकत्व कि सचेत अभिभावकत्व ?


तिम्रा बच्चा तिम्रा होइनन्
उनीहरू जीवनको आफैँप्रतिको चाहनाका छोराछोरी हुन्
उनीहरू तिमीमार्फत् आएका हुन्, तर तिमीबाट आएका होइनन्
र, उनीहरू तिमीसँग भए पनि तिम्रा भने होइनन्
तिम्रा बच्चा तिम्रा होइनन्
– खलिल जिब्रान (अनुवादित अंश)

अभिभावक अनि बच्चा–बच्चीबीचको सम्बन्ध पृथक हुन्छ । न श्रीमान्–श्रीमतीजस्तो सम्बन्ध–विच्छेद गर्न मिल्छ, न सहकर्मी मन नपरेपछि राजीनामा दिएर अफिस छाडेझैँ गर्न मिल्छ ।  न गल्ती गर्दा वा रिस उठ्दा आरोप नै लगाउन मिल्छ । साथीसँगजस्तो नबोल्न पनि मिल्दैन । जवाफदेहिता पनि खासै चाहिँदैन, घुक्र्याउन पनि मिल्दैन । यो सम्बन्ध साँच्चिकै अजीव हुन्छ । आफ्नै रगत अनि थर बोक्ने बच्चाहरू आफ्नै हुन् वा विश्व प्रसिद्ध कवि जिब्रानको कविता ‘तिम्रा बच्चा तिम्रा होइनन्’ले भनेझैँ यी बच्चाहरू आफ्ना होइनन् ?

हेलिकोप्टर प्यारेन्टिङ
अभिभावकत्वको बारेमा विदेशतिर एउटा शब्दावली निकै प्रचलित छ, ‘हेलिकोप्टर प्यारेन्टिङ’ । अभिभावक बच्चाको हुर्काइ, पढाइलाई निकै नजिकबाट निगरानी गरिरहेका हुन्छन् । हेलिकोप्टरले माथिबाट जमिनमा भएका सबैजसो कुराको निगरानी गरेजस्तै । अभिभावकलाई के लाग्छ भने उनीहरू आफ्ना बच्चालाई बचाउँदै छन्, सहयोग गर्दै छन् । अनि, आफ्ना छोरा–छोरीको जीवनको हरेक पलमा सूक्ष्म रूपमा व्यवस्थापन गरिदिन्छन् । के पढ्ने/नपढ्नेदेखि के खाने/नखानेसम्म । के लगाउने/नलगाउनेदेखि कसलाई  साथी बनाउने/नबनाउनेसम्म ।

यसरी हाम्रा बच्चाको जीवनको हरेक निर्णयमा सहयोग गर्ने नाउँमा दख्खल दिइरहेका हुन सक्छौँ । हामी बच्चाको जीवनको महत्वपूर्ण योजना, छनोट, निर्णय नै आफैँ गरिदिएर उनीहरूलाई आत्मनिर्भर बनाउन तम्सिएका छौँ । बच्चाले आफूले भनेको जस्तो गरेनन् भने उनीहरू बर्बाद हुन्छन् भन्ठान्छौँ । हामी बच्चालाई सक्षम बनाउन खोज्दै छौँ । तर, हाम्रा बच्चा कमजोर बन्दै छन् । उग्र अभिभावकत्वकै कारण बच्चालाई आफैँले बाटो छान्न सक्ने बनाउन सकिएको छैन ।

केही दिनअघि एकजना साथी नेदरल्यान्डको एउटा घटना सुनाउँदै थिए । त्यहाँ हिँड्दा–हिँड्दै कुनै बच्चा लड्यो भने त्यो बच्चालाई आफैँ उठ्न लगाइने संस्कार रहेछ । हाम्रोमा दृश्य फरक हुन्छ, एउटा बच्चा लड्यो भने हामी पूरै परिवार उठाउन जान्छौँ । हामी मायाकै कारण यसो गर्छौं जस्तो लाग्छ, तर यस्ता व्यवहारले हाम्रा बच्चालाई कमजोर बनाउँदै गरेको बारे सचेत छैनौँ । सचेत अभिभावकत्व अनि उग्र अभिभावकत्वबीच एउटा मसिनो रेखा हुन्छ । हामी धेरैले त्यो बुझ्न सकेका छैनौँ ।

हामी हाम्रा बच्चालाई ‘स्कुल जाऊ, पास गर, राम्रो कलेज पढ, राम्रो डिग्री ल्याऊ, राम्रो जागिर खाऊ, डाक्टर बन, इन्जिनियर बन’ भन्छौँ । तर, के यति भनेर हाम्रो दायित्व पूरा भयो त ? अभिभावकले कलेज ग्रेडभन्दा पनि आफ्नो बच्चाको व्यवहार, सीप, सोचाइ, मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी छ । हामी त्यो तहसम्मको अभिभावकत्व निभाउन चुकिरहेका छौँ ।

हामी बच्चालाई पिटेर भए पनि खाना खुवाएर स्कुल पठाउँछौँ । तर, एक दिन भोकै स्कुल पठाइदिनुहोस् न, उसले भोकै हुँदा के हुन्छ बुझ्छ । उसलाई भोक लागेपछि खानुपर्ने रहेछ भन्ने चेत प्राकृतिक रूपमा नै आउँछ । हामी त्यसो गर्न सक्दैनौँ । हामीलाई माया लाग्छ । लगाव हुनु मात्रै पनि असल अभिभावकत्व होइन । हामी लगावलाई माया भनेर उग्र अभिभावकत्व देखाउँदै छौँ । 

पारदर्शिता अनि इमानदारीका नाउँमा बच्चालाई उनीहरूले धान्न नसक्ने जानकारी दिनु पनि राम्रो होइन । पाँच वर्षको बच्चालाई बच्चा कसरी जन्मिएको भन्ने प्रश्नको उत्तर ‘भगवान्ले आकाशबाट झारिदिनुहुन्छ’ भन्नु नै ठीक होला । तर, १० वर्षको बच्चालाई वास्तविकता राम्ररी बुझाउन जरुरी हुन्छ । बच्चा हुर्काउन बच्चाकै शैलीमा सोच्न सके सजिलो हुन्छ । जब बच्चा स्कुल जान्छन् अनि समाजसँग भिज्छन्, उनीहरूलाई हुर्काउन गाह्रो बन्दै जान्छ । किशोरावस्थामा समस्या धेरै हुन्छन् । रक्सी, लागुपदार्थ, असुरक्षित यौन, झगडा, कुतुहल आदि समस्याबाट अभिभावकले आफ्नो बच्चा बचाउनुपर्ने हुन्छ र यी समस्या पार गरेर अघि बढ्नसमेत सहयोग गर्नुपर्ने हुन्छ । 

यो उमेरमा बच्चाको शारीरिक वृद्धि विकास, हर्मोनको उतारचढाव, मनोविज्ञानबारे अभिभावकमा ज्ञान हुनु जरुरी छ । यो उमेरमा अध्ययनमा ध्यान नजाने, मनमा अनेक सोचाइ आउने, साथी संगतमा बढी ध्यान जाने कुरामा स्कुल, अभिभावकलगायत सबै सरोकारवाला सचेत हुन जरुरी छ । दुःखको कुरा अभिभावकत्व सजिलो छैन र यसको एउटा ‘स्ट्यान्डर्ड’ सूत्र पनि छैन । प्रत्येक बच्चा फरक हुन्छन्, त्यसैले प्रत्येक बच्चाको हुर्काइको सूत्र फरक हुन्छ । अभिभावकले निर्वाह गर्नुपर्ने केही समान व्यवहारबारे छलफल गरौँ । 

१. संस्कारमा जोड
बालबालिकाको पहिलो स्कुल घर हो । हामी धेरै अभिभावकमा एउटा भ्रम के छ भने पैसा तिरेर पढाएपछि सबै काम स्कुलले गरिदिन्छ । होइन, स्कुलभन्दा बढी जिम्मेवारी घरको हुन्छ । किनकि, बच्चामा संस्कार घरले भर्ने हो, उनीहरूको क्षमता घरले पहिचान गर्ने हो । बच्चाको क्षमता पहिचान गरी सकारात्मकता घरले छर्ने हो । तर, हामी धेरैजसो नजानेरै पनि बच्चालाई ‘तैँले जिन्दगीमा केही गर्न सक्दैनस्, खलाँसी बनेर पनि खान सक्दैनस्’सम्म भन्छौँ । खाली गाली मात्र गर्छौं ।

बच्चाहरू बिस्तारै यस्ता कुरा स्वीकार गर्न थाल्छन् । उनीहरू आफू केही गर्न नसक्नेमा विश्वास गर्न थाल्छन् । तसर्थ, हामीले बच्चालाई ‘तँ केही गर्न सक्दैनस्’ होइन कि ‘तिम्रो यो यो क्षमता छ’ भनेर चिनाउन जरुरी छ । यसरी उनीहरूमा आत्मविश्वास भर्न जरुरी छ । सानालाई माया अनि ठूलालाई आदर गर्न सिकाउने दायित्व घरकै हो । सानैदेखि गल्ती गर्दा माफी माग्ने अनि कसैले सहयोग गरे धन्यवाद भन्न सिकाउने प्रारम्भिक थलो पनि घर नै हो ।

घरको वातावरणले धेरै असर गर्छ । आमा–बुबाको सम्बन्धले पनि धेरै असर गर्छ । हामीले बच्चालाई केही कुरा सिकाउनका लागि हाम्रो बुझाइका आधारमा मात्र हेर्नु र व्यवहार गर्नुभन्दा उनीहरूको मानसिकता बुझ्न तयार रहनुपर्छ । हामीले उनीहरूलाई आफ्नो जीवनको विशेषज्ञ मान्न सकेनौँ भने उनीहरूले हामीलाई सुन्दैनन् । हामीले उनीहरूसँग कुरा गर्दा खुला दिमागले गर्न जरुरी छ । उनीहरूले के गर्दै छन् र किन त्यसो गर्दै छन् बुझ्न जरुरी छ । यदि सुरुमा नै उनीहरूको कुरा नबुझी निर्णय सुनाइदिनुहुन्छ भने तपाईंले पहिलो चरणमै संवादको अन्त्य गर्दै हुनुहुन्छ । 

यदि तपाईंको बच्चाले क्लास ‘बंक’ ग-यो भने उसलाई पिट्ने वा गाली गर्नेभन्दा पनि राम्रोसँग ‘किन कक्षा छोड्यौ ?, कहाँ गयौ ?, के ग-यौ ? भनेर सोध्ने हो भने उनीहरूले सत्य बताउने सम्भावना बढी हुन्छ । अनि घर गएर उनीहरूले साँचो नबोल्नुको कारण राम्रोसँग पत्ता लगाउन सके अर्कोपल्टदेखि बच्चाले तपाईंले भनेको सुन्न थाल्छ । नत्र अर्कोपल्टदेखि ‘बंक’ गर्दा तपाईंले थाहा नै नपाउने उपाय खोज्न थाल्छ ।

२. गल्ती गर्न दिनुहोस्
अभिभावकत्वमै लामो समय काम गर्दै गरेकी डा. सेफाली साबारीले भन्ने गरेको, ‘अनुशासनले बच्चामा काम गर्दैन’ भन्ने हामीले बुझ्न जरुरी छ । अभिभावकले बच्चामा आत्म–अनुशासन जगाउन जरुरी छ । त्यो तपाईंले दिने संस्कारले सिकाउन सक्छ । तपाईं आफ्नो श्रीमान् वा श्रीमतीलाई, शिक्षकलाई, कर्मचारीलाई, भाइलाई, बहिनीलाई अनुशासनमा राख्न सक्नुहुन्न भने आफ्नो बच्चालाई चाहिँ कसरी सक्नुहुन्छ ? बच्चा कमजोर हुन्छन् भनेर ?

मेरो बच्चामा मेरो अधिकार छ अनि म बच्चाको मालिक हुँ भन्ने सोच अनि तर्क झन् खतरनाक हुने गर्छ । हामी श्रीमती वा श्रीमान् थर्काउन, छिमेकी तर्साउन, हाकिमको रिस पोख्न बच्चालाई गाली गर्ने गर्छौं । बारम्बार बच्चामाथि आफ्नो स्वामित्व प्रदर्शन गर्छौं । तर, यति बुझ्नुपर्छ, हामीले गाली गर्दा बच्चाले हामीलाई कमजोर व्यक्तिको रूपमा लिने गर्छन् । चिच्याउनु तपार्ईंले आफ्ना कुरा राम्ररी राख्न नसक्नु हो ।

बच्चाका लागि खुल्न सक्ने माहोल बनाउने काम अभिभावककै हो । बच्चाहरू कहीँ घुमाउन लैजाँदा, फिल्म हेरेर डिनरमा लैजाँदा वा साँझको समयमा घुम्दा खुल्न सक्छन् ।

एउटा बच्चा स्कुलबाट आएर झोला फाल्छ, यहीँबाट गाली सुरु हुन्छ । तर, दिनभरि कक्षामा के भयो, हामी वास्ता गर्दैनौँ । गाली गर्न, कराउन सुरु गर्छौं । समाधानभन्दा समस्या तेस्र्याउँछौँ । केही दिनअघि एउटा स्कुलमा  अभिभावकसँगको अन्तर्क्रियामा थिएँ । एकजना अभिभावकले ‘मेरो छोराले कपाल पाल्यो, जसरी पनि हजाम ल्याएर काटिदिनुप-यो’ भन्ने आग्रह स्कुलमा राखे । यसमा मेरा दुई तर्क छन् । पहिलो, तपाईंले आफ्नो बच्चालाई सम्झाउन सक्नुहुन्न भने अरू कसैले सक्दैन । दोस्रो, मेस्सी, रोनाल्डो, बब मार्ली हेरेर हुर्केका यो पुस्ताले कपाल शशि कपुरको जस्तो राखोस् भन्ने हाम्रो अपेक्षा नै गलत छ । हामीले हाम्रो बच्चाको पुस्ता बुझ्न जरुरी छ अनि त्यसलाई स्विकार्न जरुरी छ ।

हाम्रो अभिभावकत्वको समस्या भनेकै हामी बच्चालाई गल्ती गर्नबाट रोक्छौँ अनि गल्ती गरे गाली गर्छौं । फलस्वरूप बच्चाहरू गालीको डरले कुनै पनि क्रियाकलापमा नेतृत्व लिन डराउँछन् । गल्ती गर्न डराउँछन्, गल्ती गर्न डराउँदा सिकाइमा सीमितता आइहाल्छ भन्ने हामीले बुझ्नुपर्छ । त्यसैले गल्ती गर्दा बच्चालाई गाली गर्नुभन्दा पनि सम्झाउन, बुझाउन जरुरी छ । उनीहरूको कुरा सुन्न जरुरी छ ।

गाली गर्न सजिलो छ, बुझाउन गाह्रो । राम्रो र नराम्रो गर्दाका परिणाम बुझाउन सक्यौँ भने के गर्ने/नगर्ने उनीहरूले नै निर्णय गर्नेछन् । बच्चाहरू खुल्न सक्ने माहोल बनाउने काम अभिभावककै हो । बच्चाहरू कहीँ घुमाउन लैजाँदा, फिल्म हेरेर डिनरमा लैजाँदा वा साँझको समयमा घुम्दा खुल्न सक्छन् । अभिभावकले यस्ता कुरा पनि बुझ्न जरुरी छ । बच्चाहरूले खुलेर कुरा गर्ने क्रममा उनीहरूले गल्ती गरेको स्विकारे भने अभिभावकले त्यसलाई सुन्न सक्नुपर्छ ।

जीवनमा गल्ती हुन्छन् अनि त्यही गल्तीबाट सिक्ने न हो । बच्चाको गल्तीमा माफी दिन सक्नुपर्छ र भविष्यमा सकेसम्म यस्ता गल्ती नगर्न सम्झाउनुपर्छ । यसो गर्ने हो भने उनीहरूले गल्ती नदोहो-याउने सम्भावना बढी हुन्छ । यदि गल्ती स्विकार्दा पिट्नुहुन्छ भने उसले गल्ती स्विकार्ने आँट गर्न सक्दैन । डर समाधान होइन । हामी हाम्रो बच्चालाई खुसी राख्न मरेर लागिपर्छौं । यहाँ पनि हामीले बुझ्न जरुरी छ, खुसी दिनु मात्र राम्रो अभिभावक हुनु होइन, दुःख–सुखलाई झेल्न सिकाउनु राम्रो अभिभावक हुनु हो । हार्न र असफल हुनै हुँदैन भन्नुभन्दा त्यसपछि उनीहरूलाई उठ्न सिकाउनु जरुरी छ । 

३. नदाँज्ने अनि सपना नलाद्ने 
‘यसको यति नम्बर आयो, तेरो नम्बर खोइ ? दाइले यो ग्रेड ल्याएको थियो, तेरो ग्रेड खोइ ? छिमेकीको छोराले नाम निकाल्यो । मामाको छोरा बाहिर गयो ।’ हाम्रा बच्चा यस्तै  सुनेर प्रतिस्पर्धाकै बीच हुर्कन बाध्य छन् । अरूलाई हेर्दाहेर्दै आफैँलाई भुल्न बाध्य बन्दै छन् । हामी के भुल्दै छौँ भने हामी प्रत्येक व्यक्तिमा फरक–फरक क्षमता छ । न हामी अभिभावक छिमेकीजस्ता छौँ, न हाम्रा बच्चा छिमेकीका  जस्ता छन् । तसर्थ, सचेत अभिभावकत्वको अर्को सर्त भनेको दाँज्ने काम बन्द गर्नु हो । 

हरेक अभिभावक आफ्ना छोराछोरीलाई अब्बल बनाउन लागिपरेका छन् । जन्मेदेखि नै डाक्टर, इन्जिनियर, व्यापारीको ट्याग लगाइदिन्छौँ । हामी सबैलाई राम्रो जिपिए चाहिएको छ । तर, हामीले हाम्रो बच्चाको क्षमता उजागर अनि कदर गर्न कति सकेको छौँ ? हाम्रो जमानामा यस्तो थियो, उस्तो थियो भन्दै यस्तो गर्नुपर्छ, उस्तो लगाउनुपर्छ भनेर बच्चालाई आफूसँग दाँज्ने क्रियाकलापका कारण बच्चाले पृथकता गुमाउँछन् । 

मैले धेरै अभिभावक देखेको छु, जो आफूले विविध कारणले हासिल गर्न नसकेको लक्ष्य आफ्नो सन्तानले हासिल गरून्  भन्ने चाहन्छन् । अभिभावकले आफ्ना सपनाले आफ्ना बच्चालाई थिच्छन् । कृपया, आफ्ना बच्चालाई उनीहरूका सपना देख्न दिनुहोस् । त्यो सपनाको सहयोगी बन्नुहोस् । बच्चालाई के भन्ने भन्दा पनि कस्तो मान्छे किन बन्ने भन्ने प्रश्नको उत्तर खोज्न सहयोग गर्नुहोस् । जब हामी बिस्तारै  आफ्नो सपना लाद्छौँ, हामीले उनीहरूभित्रको ‘ओरिजिनल’ व्यक्तित्व मार्दै छौँ । हरेकको सफलताको बाटो आ–आफ्नै हुन्छ, त्यसको पहिचान गर्न सक्नुपर्छ । 

एकचोटि आफ्नो अभिभावकले लादेको सपना वा कुरा सम्झनुस् त ! त्यसले तपाईंलाई कति पीडा दिएको थियो ? अनि, फेरि हामी पनि त्यही कसरी गर्न सक्छौँ ? कति अभिभावकलाई लाग्दोरहेछ, हाम्रो बच्चा हो हाम्रो अधिकार हुन्छ, मेरै अंग हो । हामी के भुल्छौँ भने एउटा बच्चा आमासँग छुट्टिएपछि मात्र जन्मन्छ । यसको अर्थ हो, ऊ छुट्टै मानिस हो । यो तितो सत्य अभिभावकले बुझ्न जरुरी छ । 

४. बच्चालाई समय दिनुहोस् 
धेरै मुलुकमा बच्चा भर्ना गर्दा स्कुलले अभिभावकसँग सम्झौता गर्ने रहेछ । सम्झौताको एउटा बुँदामा, अभिभावकले बच्चालाई ३० मिनेट गृहकार्य गराउने अनि समय बिताउने उल्लेख गरिएको हुने रहेछ । अभिभावकलाई वेला–वेलामा तालिम दिने गर्दा रहेछन् । हाम्रोमा अभिभावक शिक्षाबारे खासै चर्चा छैन । अभिभावकले बच्चाको विकास अनि मानसिकता खासै नबुझी अभिभावकत्व निर्वाह गरिरहेका छन् ।

हामी बच्चासँग खेल्ने, खाने, सँगै टिभी हेर्ने, छलफल गर्ने गर्दैनौँ । तर, बच्चालाई यस्तो समयको जरुरी हुन्छ । तपाईं बच्चाको साथी बन्न जरुरी छ । अनि, मात्र तपाईंलाई उनीहरूले बढ्दै गर्दा पनि स्विकार्छन् । त्यो विश्वास अभिभावकले जित्न जरुरी छ । अनि मात्र बच्चाले तपाईंसँग उसको कुरा बाँड्न थाल्छ । 

विश्वास जित्ने उपाय समय बिताउनु नै हो । महिनाको एक दिन अफिस छुट्टि लिएर बच्चालाई घुमाउन लानुहोस् त, तपाईं र तपाईंको बच्चाको सम्बन्ध कति सुध्रिन्छ ? अनि, त्यसपछि पो बच्चाले तपाईंको कुरा मान्छ । धेरै अभिभावकमा बच्चालाई स्कुलले हेरिदिनुप-यो भन्ने चाहना हुन्छ । स्पष्ट छ, तपाईंले आफ्नो एउटा वा दुईवटा बच्चा हेर्न नसकिरहँदा स्कुलले सयौँ बच्चामध्ये तपाईंको बच्चालाई तपाईंले चाहेजसरी हेर्न सक्दैन ।

घरमा बच्चाले मोबाइल मात्र हेर्छ, टिभी हेर्छ, भिडियो गेम मात्र खेल्छ भन्ने गुनासोको समाधान पनि त्यो काम गर्न रोकेर वा कुटेर हुनेवाला छैन । ती लतको समाधान उचित विकल्प दिने हो जुन तपाईं र तपाईंको बच्चाको सम्बन्धमा  नै निर्भर हुन्छ । तपाईंलाई सुन्न मन लागेको होइन कि उसलाई भन्न मन लागेको कुरा चाख लागेर सुन्ने धैर्य देखाउन जरुरी छ । प्रश्न सोध्दा तपाईंको सोखको होइन कि बच्चाको सोखको प्रश्न हुन जरुरी छ ।

हामी श्रीमती वा श्रीमान् थर्काउन, छिमेकी तर्साउन, हाकिमको रिस पोख्न बच्चालाई गाली गर्ने गर्छौं । बारम्बार बच्चामाथि आफ्नो स्वामित्व प्रदर्शन गर्छौं । तर, यति बुझ्नुपर्छ, हामीले गाली गर्दा बच्चाले हामीलाई कमजोर व्यक्तिको रूपमा लिने गर्छन् । चिच्याउनु आफ्ना कुरा राम्ररी राख्न नसक्नु हो ।
 

आज तिम्रो कक्षामा रमाइलो के भयो, साथीहरूले के भने, जस्ता प्रश्न सोध्न अभिभावक अप्ठ्यारो मान्छन् । तर, यस्ता प्रश्न तपाईं र बच्चाको सम्बन्धका आधार हुन् । तपाईंको जीवनका कथा, जितका कथा, हारका कथा तपाईंको संवादका विषय बन्न  सक्छन् । अर्को महत्वपूर्ण पक्ष भनेको, तपाईंले बच्चामा विश्वास गर्न जरुरी छ । ता कि, बच्चाले झुटो बोल्न नपरोस् र नसकोस् । उनीहरू महत्वपूर्ण छन् भन्ने उनीहरूलाई नै महसुस गराउनुपर्छ । त्यसका लागि हामीले उनीहरूको निर्णयबारे उनीहरूकै धरातलमा उभिएर सोच्न जरुरी छ ।

 प्राध्यापक लोइस किजसर्सको एउटा अध्ययनले अभिभावकले राम्रो हेरचाह अनि माया गर्दा बच्चा कम डिप्रेसनमा जाने देखिएको थियो । त्यस्तै, डा. सेफाली साबेरीले आफ्नो पुस्तकमा अभिभावक अनि बच्चाको सम्बन्धले बच्चाको मनोविज्ञान वा भावनात्मक विकासमा मात्र असर नगरी स्नायु प्रणालीलाई समेत असर गर्ने उल्लेख गरेकी थिइन् । माया र  हेरचाह पाएका र नपाएका दुई फरक व्यक्तिका मस्तिक हेर्दा, माया अनि हेरचाह नपाएकाको मस्तिष्क अलिकति सानो हुने देखिएको थियो । सम्बन्धले असर गर्छ । सानो मस्तिष्कको अर्थ, कमजोर तीक्ष्णता (आइक्यू), डिप्रेसन, लागुपदार्थ दुव्र्यसन तथा अपराधमा लाग्ने, अनि समान अनुभूति नहुने बढी सम्भावना हो भन्ने डाक्टर सिफालीले बताएकी थिइन् ।

निष्कर्ष
स्कुले बच्चाको उमेर निकै चुनौतीपूर्ण हुन्छ । उनीहरू युवा मानव वैज्ञानिक नै हुन् । उनीहरूले संसारलाई फरक तरिकाले हेरिरहेका हुन्छन् । उनीहरूलाई बुझ्न, बुझाउन अनि सोहीअनुसारको व्यवहार गर्न सजिलो भने छैन । अभिभावकत्वको कुनै चमत्कारी सूत्र पनि छैन । म अभिभावकलाई सोध्ने गर्छु, ‘तपाईंहरू किन डराउनुहुन्छ ?’ प्रायः धेरैको उत्तर हुने गर्छ, ‘म मेरा बच्चा असफल नहोऊन् भन्ने चाहन्छु ।’ यहाँ हामी हाम्रो ३०औँ वा ४०औँ वा ५०औँ वर्षको असफलताको बुझाइलाई पाँच कक्षाको बच्चामा लाद्दै छौँ । फेल हुनु, केही कुरा बिगार्नु, ग्रेड कम आउनु असफलता होइन, कमजोरी होइन, असक्षमता पनि होइन, सिकाइ हो ।

अभिभावकले यसरी नबुझेसम्म हाम्रा बच्चाले बुझ्नेवाला छैनन् । आफ्ना बच्चासँग समय बिताउनुहोस्, उसका कुरा सुन्नुहोस्, समय दिनुहोस्, फिल्म हेर्न जानुहोस्, उसलाई बुझ्नुहोस्, उसका कमजोरीभन्दा क्षमताको तारिफ गर्नुहोस्, तपाईंको बच्चाको ग्रेड आफैँ बढ्छ । गाली गरेर, पिटेर ग्रेड बढ्दैन, बरु झन् बिग्रन्छ । हाम्रा अभिभावकले बच्चा काँचो माटोजस्तै हुन् भन्ने भ्रम त्याग्न जरुरी छ । बच्चालाई भित्रबाट ऊ जस्तो छ त्यस्तो बन्न प्रेरित गर्नुपर्छ, बाहिरबाट आफूअनुसार आकार र प्रकार बनाउने प्रयत्न गर्नुहुँदैन ।

हामी कस्ता सम्झनाका पल निर्माण गर्न चाहन्छौँ भन्ने कुराले हाम्रो अभिभावकत्व निर्धारण गर्छ । मीठा पल निर्माणका लागि घर पुगेर तपाईं–हामीले मोबाइल, ल्यापटप, रिमोट फाल्न जरुरी छ । आफ्ना बच्चाको आँखामा हेरेर हामीमा उनीहरूप्रति रहेको आफ्नो विश्वास दर्शाउन जरुरी छ । जब बच्चा घर फर्कन्छन्, हामी सोध्छौँ, ‘आज कक्षाको परीक्षामा कति नम्बर आयो ? यसपालि त पहिलो हुनैपर्छ, फलानोलाई जित्नुपर्छ, राम्रो जिपिए ल्याएर ठूलो कलेज पढ्नुपर्छ ।’ यस्ता प्रश्नको साटो, ‘छोरी आज के पढ्यौ ? साथीहरूसँग दिन कस्तो बित्यो ? के नयाँ कुरा सिक्यौ ? छोरा तिम्रो फुटबल कस्तो चल्दै छ ?’ भनेर सोध्नुहोस् त । आफ्नो प्रश्न बदल्नुहोस्, सायद तपाईंको अनि तपाईंको बच्चाको भविष्य बदलिन्छ ।

तपाईंलाई लाग्ला, राम्रो जिपिए ल्याएन भने कसरी राम्रो कलेज पढ्न पाउँछ ? कलेजलाई ग्रेड चाहिन्छ, अवार्ड चाहिन्छ । सफल हुनका लागि धेरै ग्रेड नै ल्याउनुपर्छ अनि ठूलो कलेज नै पढ्नुपर्छ भन्ने छैन । खुसी अनि सफल मानिसहरू साधारण स्कुल पढेका छन् ।

सफलताको अर्थ डाक्टर अनि इन्जिनियर नै बन्नुपर्छ भन्ने पनि होइन । आज सफल मानिसको सूची हेर्ने हो भने डाक्टर, इन्जिनियर कमै छन् । एउटा प्रसिद्ध भनाइ छ, ‘दर्शकले जोकरलाई जोकर देख्छ, तर जोकरले आफूलाई जोकर देख्दैन, आफूलाई कलाकार देख्छ ।’ आज हाम्रा बच्चाले आफूलाई के देख्दै छन्,  त्यो महत्वपूर्ण छ । तपाईंले तपाईंका छोरा–छोरीमा के देख्दै हुनुहुन्छ, त्यो महत्वपूर्ण ठहरिनेछ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको