पोखरा रङ्गशाला निर्माण ढिलाइमा जनचासो



कास्की : पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशाला निर्माण बारेमा जनचासो बढेको छ । निर्माण कार्यमा ढिलाइ हुन थालेपछि स्वाभाविक रुपमा जनचासो बढ्दै जान थालेको हो । निर्माणाधीन अवस्थामा रहेको पोखरा रंगशालामा ढिलोमा दुई महिनाभित्रै निर्माण गरिसक्नुपर्ने छ । किनकि, यही डिसेम्बर १ देखि ९ सम्म १३औं दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल यही नवनिर्मित रंगशालामा खेलाइने छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले पनि कात्तिक १५ भित्र उक्त खेल मैदान निर्माण गरिसक्न ताकेता गरिसकेको छ । पञ्चायत कालमा निर्माण गरिएको तर २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त हुनपुगेपछि साग खेलकुदको तयारीसँग यसको निर्माण कार्य अघि बढेको हो ।

रंगशालाको पुनर्निर्माण कार्यमा ढिलाई हुँदै जाँदा कतै आयोजित साग फुटबल खेल पोखरामा नहुने हो कि भनी खेलप्रेमी तथा आमजनताबाट चिन्ता र चासो जाहेर भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म पुनर्निर्माण कार्य सकिसक्नुपर्ने उक्त रंगशालाको सिलान्याश गत फागुनमा गरिए पनि यसको डिजाइनको टुङ्गो नलाग्दा काममा ढिलाइ हुन पुगेको हो । पुनर्निर्माणमा यसलाई प्राकृतिक मैदान बनाउने निर्णय भएपछि निर्माण कार्यले थप समय लिने देखिएको छ । दैनिक १२० जना कामदारले निर्माण कार्यलाई निरन्तरता दिनुका साथै काम घण्टा बढाएर बिहान ६.० बजेदेखि साँझ ७.० बजेसम्म बनाइएको छ ।

रङ्गशाला निर्माणका लागि गत वर्षको पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी)बीच सम्झौता भई काम सुरु गरिएको हो । सम्झौताअनुसार साधरण र भीआईपी, भीभीआईपी गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गरिने र त्यसका लागि रु. १ अर्ब ३० करोड लाग्ने अनुमान गरिएको छ ।

असोज पहिलो सातामा भारतबाट दुबो ल्याई दशैँअघि नै रोपिसकिने छ ।

प्रतिक्रिया दिनुहोस्