जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग



ताप्लेजुङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरे । विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आउनुभएका उनले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गरेका हुन ।

सहयोग रकम समीर राईका अविभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष चित्रगुप्ता साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए । मन्त्री भट्टराईले आगामी दिनमा समेत समिरको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समिरका आमाबुबा दृष्टिविहीन छन् । समिर आफैँले समेत राम्रोसँग आँखा देख्दैनन् । कक्षा नर्सरीमा अध्ययनरत समिरलाई सदरमुकाम फुङलिङस्थित नवज्योति बोर्डिङ स्कूलले निःशुल्क रुपमा पढाउँदै आएको बताइएको छ । मन्त्री भट्टराईले गत वर्ष जन्म दिनका अवसरमा पाथीभरा याङवरक गाउँपालिकाका दुई दलित विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेका थिए । ताप्लेजुङबाट उहाँको विसं २०२३ भदौ २१ गते जिल्लाको ढुङ्गेसाँघुमा जन्म भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्