यू–१९ एसिया कप क्रिकेट : नेपालले आज बंगलादेशसँग खेल्दै



काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज (आइतबार) नेपालले बंगलादेशसँग खेल्दै छ । बिहीबारदेखि श्रीलंकामा सुरु भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता भदौ २८ गतेसम्म सञ्चालन हुने छ ।

समूह ‘बी’मा रहेको नेपाललाई अघिल्लो चरणमा पुग्न बंगलादेशसँगको खेल निकै महत्वपूर्ण छ ।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा पाँच विकेटले पराजित भएको थियो । टेस्ट राष्ट्र बंगलादेश पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो ।

बंगलादेशले पहिलो खेलमा यूएईमाथि सहज जित निकालेको छ । त्यसैले पनि बंगलादेशको मनोबल उच्च छ । नेपाल र बंगलादेशबीच यसअघि उमेर समूहमा पाँच पटक प्रतिस्पर्धा भएको छ । चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतियोगितामा नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन् । नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्