एशिया कप– नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत



काठमाडौं : श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज (आइतबार) भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ ।

कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २ सय ६१ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले ।

पवनले १०९ बलमा एक छक्का र आठ चौकाको मद्दतमा ८१ रनको योगदान दिए । त्यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६ रन जोडे । त्यस्तै रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहित पौडेलले १४ रन बनाए ।

बङ्गलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले समान २÷२ विकेट लिए । नेपाललाई अघिल्लो चरण प्रवेशको लागि पनि बङ्गलादेश विरुद्धको खेलमा जित्नैपर्ने दबाब छ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्