गूगल र फेसबूकका कर्मचारी फ्रेश हुन कमेडी क्लब जाँदै



एजेन्सी : अमेरिकाको शिकागोमा रहेको सेकेन्ड सिटी कमेडी क्लब विगत ६० वर्षदेखि उम्दा कमेडी शो देखाइरहेको छ । विगत केही समययता यसले संसारका ठूला कम्पनीका व्यवस्थापकहरूलाई तालिम दिँदै आएको छ । 

गूगल, फेसबूक, ट्विटर, नाइकी, म्याकडोनल्ड्स जस्ता ठूलाठूला कम्पनीले आफ्ना व्यवस्थापक, इन्जिनीयर र कार्यकारीहरूलाई यहाँ कमेडीको तालिम लिन पठाउने गरेका छन् । 

कमेडी क्लबका अध्यक्ष केली लेनर्डले कर्पोरेट कर्मचारीहरू ग्राहकसँग थप राम्ररी डील गर्न र सफ्ट स्किल बढाउन क्लब आउने गरेको जानकारी दिए । 

कम्पनीहरू आफ्ना कर्मचारी राम्रो मूडका साथ काम गरून् भन्ने चाहन्छन् । घमण्डी कर्मचारीहरूलाई राम्रो बनाउन पनि कम्पनीहरूले कमेडी क्लासमा पठाइरहेका छन् । कमेडी क्लासका कारण कर्मचारीहरूमा अरूको आइडिया स्वीकार गर्ने भावना उत्पन्न भइरहेको छ । उनीहरू एकअर्कासँग पनि खुलेर कुराकानी गरिरहेका छन् । सेकेन्ड सिटी क्लबले कमेडी सिकाएर पैसा पनि खुबै कमाइरहेको छ । 

क्लबले आफ्नो वार्षिक राजस्व ५ करोड डलर भएको बताएको छ । त्यसको एक तिहाइ भाग कमेडी क्लासको फीज भएको उसको भनाइ छ । 

सन् २००२ मा कम्पनीहरूका लागि कमेडी वर्कशप शुरू गरेको क्लबले ७०० भन्दा बढी क्लाइन्टसँग काम गरिसकेको छ । 

इम्प्रुभ असाइलमले पनि सेकेन्ड सिटी कमेडी क्लबले जस्तै कमेडीमा काम गर्छ । उसले कमेडी थिएटर चलाउने गरेको छ । गूगल, पीडब्ल्यूसी, हार्वडए, एमआईटी लगायतलाई पनि उसले कमेडी ट्रेनिङ दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्