उपभोक्ता हित संरक्षण मञ्चद्वारा वीरगञ्ज महानगरविरुद्ध उजुरी दर्ता



वीरगञ्ज : उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जले वीरगञ्ज महानगरपालिकाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगञ्जमा मुद्दा दर्ता गराएको छ । वीरगञ्ज महानगरको सडक किनारमा अव्यवस्थित तरिकाले सञ्चालित मासु पसल व्यवस्थित गर्न पटकपटक लिखित तथा मौखित ध्यानआकर्षण गराउँदा सुनवाई नभएपछि उपभोक्ता हित संरक्षण मञ्चले महानगरविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गराएको हो ।

आइतबार दर्ता गराइएको मुद्दाको पेसी भदौ २३ गते सोमबार बिहान १० बजे तोकेको छ । मञ्चले महानगरपालिकासहित जिल्ला प्रशानस कार्यालय, वाणिज्य कार्यालय, जिल्ला प्रहरी कार्यालय र वीरगञ्ज मासु व्यवसायी संघलाई समेत विपक्षी बनाएको छ ।

जनताको स्वास्थ्यसँग खेलवाड गर्दै यहाँका माछामासु व्यवसायीहरुले रजतजयन्ती चोकदेखि उत्तर गण्डक नहरसम्म र नगरको विभिन्न चौक चौराहाको मुल सडकको किनारमा अव्यवस्थित माछामासुको पसलहरु निर्धक रुपमा सञ्चालन हुँदै आएको छ ।

‘अव्यवस्थित तरिकाको बिक्री वितरण, मूल्य वृद्धि लगायतको समस्याबारे महानगरपालिका प्रमुख विजय कुमार सरावगीलाई तीन पटक लिखित उजुरी र कयौं पटक मौखित जानकारी गराएका थियौं । तर, कुनै सुनवाई नभएपछि बाध्य भएर उजुरी दिनु पर्यो’ मञ्चका अध्यक्ष अजित भुजेलले भने ।

उपभोक्ता जीवनसँग खेलवाड गर्नेविरुद्ध कारवाही गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उप (दफा २ (१) को (१) (२) (३) (४) (११) (१४) (१९) महानगरपालिकालाई अधिकार दिएको छ । तर, महानगरपालिका प्रमुख सरावगीले जनतासँग सरोकार राख्ने विषयमा कुनै ध्यान दिएका छैन, उनीहरुलाई कारवाही गर्नुपर्नेमा कारवाही पनि गरेन्, बजारलाई पनि व्यवस्थित बनाउँन नसकेपछि मुद्द दर्ता गराएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्