महामारी डेंगु नियन्त्रणका लागि महाअभियान जरुरी



काठमाडौं : नेपालमा डेंगु रोग कल्पना गरेभन्दा बढी द्रुत गतिमा फैलिरहेको छ । सर्वसाधरणदेखि डाक्टर र मन्त्रीहरु पनि यो रोग लागेर अस्पताल भर्ना भएबाट थाह हुन्छ कति भयानक रुपमा डेंगको महामारी बिस्तार भइरहेको छ । रोग नियन्त्रण महाशाखा (इपिडेमिओलोजी) का अनुसार डेंगुले नेपालमा एक खतरनाक महामारीको रुप धारण गरिसकेको छ ।

नेपाल डेंगु रोग सुरुको चरणमा :

महामारीका रुपमा डेंगु फैलिएपछि सरकारले डेंगु नियन्त्रणका लागि केही कदमहरु त चाल्यो पनि । तर चालिएका ती प्रयास र कदमहरुमा त्यति प्रभावकारिता देखिएन । नेपालमा यो रोगको प्रकोप पहिलो हो । तर पनि सोचेभन्दा द्रुत गतिमा यो देशभर फैलिइरहेको छ ।

२०६५ सालतिर नेपालको पूर्वी तराई जिल्लामा देखा परेको डेंगु हाल देशका ४४ भन्दा बढी जिल्लामा महामारीका रुपमा फैलिइसकेको छ । सुरुमा विरामी डेंगु संक्रमित हो कि होइन भनी विश्वस्त हुनका लागि चेकजाँच गर्ने आवश्यक आधुनिक उपकरणको पनि अभाव छ ।

डेंगु लागिसकेपछि विरामी निको हुँदैन, उपचारका लागि औषधी पनि छैन, डाक्टरले यो रोग पत्ता लगाउनै सक्दैनन् भन्ने जस्ता हल्ला र अफवाहले पनि स्थानीय जनता तथा विरामीहरुलाई अत्याउने गरेको छ । डेंगु लाग्छ कि भनी बच्नका लागि सतर्क रहनु यस रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय हो, तर सतर्कता अपनाउँदा अपनाउँदै लागेछ भने पनि आतंकित हुनु हुँदैन ।

चिकित्सकको अनुभव :

चिकित्सकका अनुसार डेंगु लागेपछि विरामीको ज्यान जान्छ भन्ने छैन । त्यो यथार्थ भन्दा पनि बढि भ्रम नै हो । डेंगु रोग निको हुन्छ । मानिसको शरीरमा रहने रोग प्रतिरोधात्मक शक्तिले डेंगु रोगलाई पचाउन र रोगीलाई बचाउन सक्छ । रोग लागेको थाह भएमा शरीरमा रोग प्रतिरोधात्मक शक्तिलाई सहयोग पुग्ने गरी विभिन्न औषधि तथा स्लाइनहरु दिने गरिन्छ ।

चिकित्सकहरुका अनुसार डेंगु लागेका विरामीमध्ये धेरैले यसलाई सजिलै पचाउन सक्छन् । त्यस्ता मानिसरु कम पीडित र संक्रमित हुन्छन् पनि । तर केहीलाई भने यस रोगले गहिरो गरी असर पुर्याउन सक्छ । तिनीहरु डेंगु रोगबाट निको हुन धेरै लामो समय लाग्छ । तुलनात्मक रुपमा पहिलो पटक संक्रमित डेंगुका विरामीले यो रोगलाई सजिलै पचाउन सक्छन् ।

तर पटकपटक फेरि पनि डेंगु संक्रमित लामखुट्टेको टोकाइमा परे भने यो रोग बढी जटिल हुँदैजान्छ । यो रोगको अप्ठेरो पक्ष भनेको रोग लागेको सित्तिमिति पत्ता लाग्दैन । डेंगु लागेका मानिसहरुमा देखिने रोगका लक्षणहरु अरु रोगका सामान्य लक्षणहरुसँग मिल्ने हुनाले पनि यो रोग पत्ता लगाउन गाह्रो पर्छ ।

लक्षणहरु :

डेंगु रोगलाई ‘हड्डी फोर ज्वरो’ पनि भनिन्छ । डेंगु लागेपछि ज्वरोको मात्रा निकै बढेर आउँछ । ज्वरोसँगै अन्य लक्षण पनि देखिन थाल्छन् । सुरुमा एक्कासी ज्वरो आउने, कम हुने र फेरि ज्वरो आउने हुन्छ । टाउको निकै दुख्छ । मुख र नाकबाट रगत बग्न सक्छ । शरीरका फिला तथा जोर्नीहरु निकै दुख्न थाल्छ । वाकवाकी लाग्ने, उल्टी हुने र पातलो दिसा आउन थाल्ने हुन्छ ।

डेंगु रोगले च्याप्दै लगेपछि आँखाको भित्र दुख्ने, थकाइ लाग्ने, भोक नलाग्ने आदि हुन्छ । टाउको दुख्ने र ज्वरो आउने निरन्तर भइ नै रहन्छ । चक्कर लाग्ने र आँखाको ज्योति धमिलो हुने पनि गर्दछ ।

बच्ने उपाय :

डेंगु रोग लाग्नबाट बच्न सबैभन्दा पहिले डेंगुरोग सार्ने लामखुट्टेका बारेमा राम्रो र सही जनाकारी हुनु पर्छ । डेंगु रोग सार्ने लामखुट्टे सामान्य लामखुट्टे भन्दा फरक हुन्छ । यसको शरीर, खुट्टा र पखेटामा पनि सेता धर्साहरु हुन्छन् । यसले विहान उज्यालो भएदेखि साँझ अँध्यारो हुँदासम्म मानिसलाई टोक्ने गर्दछ ।

भनिन्छ, डेंगु सार्ने लामखुट्टे मानिससँगै सुत्छ र मानिससँगै उठ्छ । उठेपछि विहानदेखि साँझसम्म मानिसलाई टोक्नका लागि पछ्याइरहनु यसको दैनिकी हो । यो उज्यालोमा विचरण गर्ने र सफा पानीमा फुल पार्ने जातको लामखुट्टे हो । अरु लामखुट्टे अँध्यारोमा लुक्ने र रातमा टोक्ने गर्दछन् र फुल पनि फोहर पानीमा पार्छन् ।

डेंगु सार्ने लामखुट्टेबाट बच्न मल्हम लगाउने र टोक्न नदिन सतर्कता अपनाइरहनु पर्छ । यसखाले लामखुट्टेले सफा पानीमा फूल पार्ने र १२ देख १४ दिन वा लगभग दुई हप्ताभित्र फुलबाट बच्चा निस्कने भएकाले घरमा राखिएका पानीका भाँडाहरु छोप्ने र पानीका भाँडाहरु प्रयोग गरिराख्ने गर्नुपर्छ ।

महाअभियानको आवश्यकता :

डेंगु रोग नेपालमा भित्रिइ सक्यो । त्यसैले यो रोग नियन्त्रणका उपायहरु सबैले जानिराख्नु पर्छ । माऊ वा पोथी डेंगु मारेर मात्र डेंगु नियन्त्रण संभव छैन । डेंगु सार्ने लामखुट्टेका फुलबाट निस्केका बच्चाहरुले टोकेमा तिनीबाट पनि डेंगु रोग नै सर्ने भएकाले लामखुट्टेका साथै यसले सफा पानीमा पारेका अण्डाहरु नस्ट गर्नु पर्छ । मानिसले प्रयोग गर्ने सफा पानीका भाँडाहरु छोपेर राख्नु पर्छ । डेंगु लामखुट्टेले फुल पारेका आशंका लागेका ठाउँहरुमा पानी बगाउने, औषधि छिट्ने तथा सफा गर्ने गर्नुपर्दछ ।

यो अभियान सर्वसाधरणसहित मन्त्री, कर्मचारी, सेना, पुलिस, विद्यार्थी, शिक्षक, युवा, व्यापारी, व्यवसायी, किसान मजदुर सबैले देशभर थाल्नु पर्छ । अनि अभियान निरन्तर चलाइरहनु पर्छ । महामारीका रुपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि निरन्तर महाअभियान चलाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्