चिनियाँ विदेशमन्त्री वाङको ‘पोर्टफोलियो कन्ससनेस’



काठमाडौं : छिमेकी राष्ट्र चीनका विदेश मन्त्री वाङको नेपाल भ्रमणका क्रममा देखिएको ‘पोर्टफोलियो कन्ससनेस’ ले सबैलाई संयमित बनाएको छ । मन्त्री वाङको नेपाल बसाइका क्रममा हुने भेटघाटमा ‘पोर्टफोलियो कन्ससनेस’मा निकै ध्यान पुर्याइएको देखिन्छ । मुख्य गरी दुवै देशका ‘सरकार–सरकार’ (जीटुजी) सम्बन्धलाई प्राथमिकतामा राख्ने चीनका विदेश मन्त्रीले यसैलाई ‘फलो’ गरेको देखिन्छ ।

देशका कार्यकारी प्रधानमन्त्रीदेखि लिएर रात्री भोजमा समेत भेटघाटका कार्यक्रमहरु क्रमबद्धतामा मिलाइएका देखिन्छन् । यी भेटवार्ताहरुमा राजनीतिक सन्तुलन र कुटनीतिक सतर्कता समेत देखिन्छ । तर, चिनियाँ विदेश मन्त्री सकभर कोही कसैलाई ‘काखापाखा’ गरेको महसुस नहोस् भन्नेमा चनाखो रहेको देखिन्छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । मन्त्री वाङ पाकिस्तानको भ्रमण सकेर सिधै काठमाडौं आएका हुन् ।

एक व्यक्ति दुई जिम्मेवारी
अरु देशका मन्त्रीहरुको भ्रमणलाई नितान्त सरकारी स्तरबाट हुनेगरेको भ्रमणका रुपमा लिइन्छ भने चीनको सन्दर्भमा केही अपवाद लागू हुने गरेको छ । त्यो हो, चिनियाँ सरकारलाई चिनियाँ राज्यसत्ता र राज्यसत्तालाई चिनियाँ सरकारका रुपमा लिइनु । त्यसैले पनि विदेश मन्त्री वाङको भ्रमणलाई चिनियाँ राजसत्ताको भ्रमणमा लिइने गरिन्छ ।

यसै अर्थमा चिनियाँ विदेशमन्त्रीको भ्रमण आफैँमा राजनीतिक र कुटनीतिक रहेको छ । नेपालका राष्ट्र प्रमुखहरुसँगको उनको भेटघाट सरकारी स्तरको भेटघाट रहने छ भने राजनीतिक दलका नेताहरुसँगको उनको भेटघाट एक चिनियाँ कम्युनिष्ट पार्टीका नेताको । भेटघाटको तालिकामा सरकार–सरकार बीचको वार्तालापलाई बढी महत्व दिइएको देखिए पनि राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई पनि नजरअन्दाज भने गरिएको छैन ।

राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा मधेशका नेताहरुलाई भेट्ने उल्लेख नगरे पनि भेटघाटको चाँजोपाँजो मिलाइएको थाहा हुन आएको छ । स्रोतका अनुसार प्राथमिकताका साथ मधेशका नेताहरुलाई भेट्दा दिल्लीमा अनावश्यक होहल्ला हुने कुरालाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको खुल्न आएको छ ।

होला नेपालको तयारी ?
कार्य तालिकाअनुसार नेपाल–चीन द्विपक्षीय वार्ता पहिले गरिने छ । यसका लागि निर्धारित कार्यक्रम अनुसार सोमबार दिउँसो ३.३० बजे होटल याक एण्ड यतीमा सुरक्षा तथा शिष्टाचारका साथै आवश्यक सबै व्यवस्था मिलाइ सकिएको छ । त्यहाँ नेपाल–चीन द्विपक्षीय वार्ता हुनेछ । वार्तामा केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि राखिएको छ ।

तर सधै नै तयारी नपुर्याउने , आवश्यक गृहकार्य पनि नगर्ने, आफू पनि बोल्न र आँट्न नसक्ने, दिएका र समझदारी भएका कामहरु पनि फत्ते गर्ने हुती नराख्ने नेपाल सरकारको अवस्था देखेर चिनियाँहरुले सधै खिन्नता प्रकट गर्ने गरेका छन् । दुईतिहाई प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा भएका सहमतिमा नेपाली पक्षबाट गृहकार्य पूरा नभएको कारण देखाउँदै प्रोटोकलमा समेत हस्ताक्षर हुन नसकेपछि आशंकाको वातावरण सिर्जना हुन गएको थियो । पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका बेलामा मात्र प्रोटोकलमा हस्ताक्षर भई इज्जत जोगिएको थियो ।

अहिले पनि विदेशमन्त्री वाङको भ्रमणका बखत होटल याक एण्ड यतीमा हुने भनिएका सहमतिहरुमा नेपालका तर्फबाट के कति गृहकार्य भएका छन् या छैनन् ढुक्क हुने ठाउँ छैन ।

सरकारी भेटघाट
होटल याक एण्ड यतीमा आयोजित द्विपक्षीय वार्ता पछि लगत्तै साँझ ५.० बजेदेखि ५.४५ बजेसम्म विदेशमन्त्री वाङले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोमबार साँझ ६.० बजेपछि विदेशमन्त्री वाङको टोली शितल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछ ।

राजनीतिक दलका नेतासँग भेट
मंगलबार ९.०० बजे मन्त्री वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउबालाई उनकै निवासमा ११.०० बजे भेट्ने छ ।
विदेशमन्त्री वाङले केही राजनीतिक विश्लेषक र उद्योगी व्यवसायीसँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा मधेशका नेताहरुलाई भेट्ने उल्लेख नगरे पनि भेटघाटको चाँजोपाँजो मिलाइएको थाहा हुन आएको छ । स्रोतका अनुसार प्राथमिकताका साथ मधेशका नेताहरुलाई भेट्दा दिल्लीमा अनावश्यक होहल्ला हुने कुरालाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्