कर्णालीको स्याउले पाएन भाउ



काठमाडौं : मौसम र यातायातको अनुकूलतासँगै नेपालगञ्ज बजारमा कर्णालीको स्याउ भरिभराउ हुन पुगेको छ । स्याउ आफैमा स्थानीय, अर्गानिक र रसिलो हुनाले सबैका आँखा त्यसैमाथि परिरहेका छन् । मूल्य पनि सस्तो, प्रति किलो रु. एक सयदेखि १ सय २० सम्म ।

स्थानीय मूल्यको कर्णालीका ताजा स्याउ पाउन थालेपछि भारत तथा चीनबाट आयातित स्याउहरु बिक्रि हुन छाडेका छन् । बजारमा दैनिक हुने माग अनुसार कर्णालीबाट स्याउ आपूर्ति हुन थालेपछि आयातित स्याउ पाखा लगाइएका छन् ।

कर्णाली प्रदेशस्थित हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट स्याउ नेपालगञ्जको बजारमा ल्याउने गरिएको छ । अत्यधिक औषधि प्रयोगका कारण स्याउको स्वादसमेत् गुमाइसकेका आयातित स्याउहरुले बजार पाउन सकिरहेका छैनन् । तर स्याउ संरक्षण र भण्डारण कक्षहरु नभएकाले कर्णालीको स्याउले छोटो समयमात्र बजार प्रभावित गर्ने नेपागञ्जका व्यापारीहरुको भनाइ रहेको छ ।

‘केही दिन मात्र हो, सिजन सकिएपछि कर्णालीका स्याउ आउँदैनन्’ नेपालगञ्जका फलफूल बिक्रेताहरुको छोटो टिप्पणी आउने गरेको छ । तर उता कर्णाली प्रदेशका जिल्लाहरुमा मोटरबाटो पुगेकाले स्थानीय जनता बजारसम्म स्याउ पुर्याई आफै बसेर बिक्रिबट्टो गर्ने सोचमा देखिन्छन् । सडकबाटै नेपालगन्जमा दैनिक चार÷पाँच ट्रक स्याउ आइरहेको छ ।

नेपालगञ्ज गुरुद्वारास्थित फलफूल सागसब्जीको थोक मण्डीमा स्याउ झारिने र त्यहाँबाट फुट्कर बिक्रेताले अन्यत्र फिंजाउने गरिरहेका छन् ।

कर्णालीबाट नेपालगञ्जमा ल्याइएपछि स्याउको वगीकरण गरी बजार व्यवस्थापन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्