प्रदेशको नामाकरणबारे आ-आफ्नै अडान कायमै



जनकपुरधाम : प्रदेश २ को राजधानी र नामाकरणको विषयलाई लिएर दलका नेताहरु आ–आफ्नै अडानमा कायम छन् ।

हिजो (आइतबार) २२ गते चलेको छलफलमा सबै राजनीतिक दलका सांसद आआफ्नै पार्टीले प्रदेशसभामा दर्ता गराएको नाम राख्नु पर्ने धारणा राखे भने बारा र पर्साका केही विद्रोही सांसदले भने भिन्न धारणा राखे ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरुले प्रदेशसभामा पेश गरेको प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा आ–आफ्नो पार्टीको प्रस्तावमा अडान लिएका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महिला सांसदहरु मन्जुकुमारी यादव र शारदा थापाले जानकी राष्ट्रिय विभूती भएकाले जानकी प्रदेश सबैभन्दा उपयुक्त नाम रहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका सांसद नरेश यादवले मिथिला–भोजपुराको कुनै विकल्प नै नरहेको दाबी गर्छन् । त्यस्तै सांसद सरस्वती चौधरीले मिथिला भोजपुराले सबै वर्ग र जाजातीको मौलिकताका साथै अपनत्व बोध गराएकाले प्रदेशको नामाकरण मिथिला भोजपुरा नै हुनुपर्ने धारणा राखिन् ।

कांग्रेसका अर्का सांसद राजेश्वरप्रसाद साहले भने पहिचानकालागि मधेस आन्दोलन भएको बताउँदै प्रदेशको नाम मध्य मधेस हुनुपर्ने अडान राखे । साहको प्रस्तावको समर्थन गर्दै सांसद ओमप्रकाश शर्माले समेत मध्य मधेस नामाकरण हुनुपर्नेमा जोड दिए ।

सत्तारुढ समाजवादी पार्टीका सांसद शैलेन्द्र यादवले मधेस आन्दोलनको बलमा संघीयता आएको भन्दै मधेस प्रदेश वाहेक अरु नाम स्वीकार्य नहुने बताए । राजपा सांसद बबिता चौधरी र सुरिता साहले प्रदेशको नाम मधेस प्रदेश हुँदा आफ्नो समर्थन रहने बताए ।

प्रदेशसभामा प्रदेश २ को नामाकरण सत्तारुढ राजपा र समाजवादी पार्टीले संयुक्त रुपमा मधेस, नेकपाले जानकी, नेपाली कांग्रेसले मिथिला भोजपुरा र बारा पर्साका केही सांसदले मध्यमधेस प्रदेश हुनु पर्ने प्रस्ताव पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्