नेपालबाट भारततर्फ लैजादै गरेको १४ टन छोहडा पर्सामा नियन्त्रण



नरेश सर्राफ / वीरगञ्ज : नेपालबाट भारततर्फ तस्करहरुले अवैध रुपमा निकासी गर्न लागिएको करिब १४ टन छोहडा पर्सा प्रहरीले पक्राउ गरेको छ । पोखरीया नगरपालिका वडा नं. ३ बसतपुरबाट ना ७ ख ३९८८ नं. को ट्रकमा लुकाई छिपाई भारततर्फ निकासी गर्न लागेको अवस्थामा करिब १४ टन छोहडा पक्राउ गरिएको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

प्रहरीले ट्रक भित्रबाट १ सय ४० बोरामा ७ हजार किलो छोहडा रहेको बताए । यसको बजार मूल्य ७ लाख ७० हजार रुपैयाँ रहेको अनुमान प्रहरीले गरेको छ । तस्करहरुले अवैध रुपमा भारत तर्फ निकासी गर्न लगि रहेको भनि आएको विशेष सूचनाको आधारमा ट्रक सहित चालक वीरगन्ज १६ नगवाका विजय साह तुराहालाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राठौंरले बताए ।

त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वाबाट प्रहरीले करिब ७ टन छोहडा बरामद गरेको छ । १ सय बोरा करिब ६ हजार ९ सय ४० किलो अन्दाजी ७ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको छोहडा बरामद गरेको प्रहरीले जनाएको छ ।

छिपहरमाई–५ भिस्वा पुग्दा वेवारिसे अवस्थामा खाली खेतमा त्रिपालले छोपी राखेको अवस्थामा छोहडा बरामद गरिएको थियो । दुवै स्थानबाट बरामद गरिएको छोहडा, ट्रक र ट्रक चालकलाई आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पठाईएको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्