देशभर डेंगुको सन्त्रास



काठमाडौं : अहिले देशभर डेंगुको सन्त्रास फैलिएकोे छ । अस्पतालमा हरेक दिन उपचार गर्न आउने डेंगुका बिरामी बढिरहेका छन् । बिरामीको चाप बढ्नाले उपचारमा समस्या आएको डाक्टर हरुको भनाइ छ ।

२०६५ सालतिर नेपालको पूर्वी तराई जिल्लामा देखा परेको डेंगु हाल देशका ४८ भन्दा बढी जिल्लामा महामारीका रुपमा फैलिइसकेको छ ।

सर्वसाधरणदेखि डाक्टर र मन्त्रीहरु पनि यो रोग लागेर अस्पताल भर्ना भइरहेका छन् ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई डेंगु संक्रमण भएके आशंका गरिएको छ । शनिबारदेखि उच्च ज्वरो आएपछि उपचारका लागि उनी टेकु अस्पताल गएका थिए । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्न सुझाएका छन् । उपचारका क्रममा डेंगु भए नभएको एकिन नभएपनि चिकित्सकहरुले डेंगु संक्रमणको आशंका गरेका छन् । त्यसपछि गौतमको विभिन्न परीक्षण गरिएपनि रिपोर्ट आइसकेको छैन् ।

चिकित्सकका अनुसार डेंगु लागेपछि विरामीको ज्यान जान्छ भन्ने छैन । त्यो यथार्थ भन्दा पनि बढि भ्रम नै हो । डेंगु रोग निको हुन्छ । मानिसको शरीरमा रहने रोग प्रतिरोधात्मक शक्तिले डेंगु रोगलाई पचाउन र रोगीलाई बचाउन सक्छ ।

चिकित्सकहरुका अनुसार डेंगु लागेका विरामीमध्ये धेरैले यसलाई सजिलै पचाउन सक्छन् । त्यस्ता मानिसरु कम पीडित र कम संक्रमित हुन्छन् । तर केहीलाई भने यस रोगले गहिरो असर पुर्याउन सक्छ । तुलनात्मक रुपमा पहिलो पटक संक्रमित डेंगुका विरामीले यो रोगलाई सजिलै पचाउन सक्छन् ।

तर पटकपटक फेरि पनि डेंगु संक्रमित लामखुट्टेको टोकाइमा परे भने यो रोग बढी जटिल हुँदैजान्छ ।

अस्पतालमा बिरामीको चाप

पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ ।

अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ । अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको छ । अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिकरुपमा बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको जनाइएको छ । बिरामीको चाप बढिरहेको तर आवश्यक उपक।णको अभावले उजचारमा कठिन भएको चिकित्सकहरुको गुनासो रहेको छ । अस्पतालमा बिरामी भर्ना गर्ने श्यया अभावसमेत रहेको छ । अस्पतालमा उक्त रोगका लागि २४ श्ययामात्र रहेका छन् ।

पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखा पर्न थालेको छ । पछिल्लो समय सो रोगको सङ्क्रमण देशका ४८ जिल्लामा देखा परिसकेको छ । मन्त्रालयका अनुसार रोगको सङ्क्रमणका कारण तीनजनाको अकालमा मृत्युसमेत भएको छ ।

के हो डेङ्गु ?

डेङ्गु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सर्दछ । विसं २०७६ को वैशाखदेखि हालसम्म छ हजारभन्दा बढी बिरामी भइसकेका जनाइएको छ ।

प्रायः सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखा पर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण हुन् ।

मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्यरुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ ।

महामारीका रुपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि निरन्तर महाअभियान चलाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्