बीस वर्षदेखि शरीरमा १० गोली बाेक्दै डम्मर



फाइल फोटो

रुकुमपूर्व : एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ । यो सब उहाँ बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र अझै अड्किएका छन् ।

त्यसैको असरले उहाँको शरीरमा समस्या भएको हो । उहाँको शरीरमा अहिले पनि १० वटा गोली छन् । युद्धका बेलामा एक पटक जीवन पाएका पात्र हुनुहुन्छ उहाँ । बीस वर्षदेखि शरीरभरि गोली बोकेर हिँडेका सिस्ने गाउँपालिका–८ लम्पाकोटका ३६ वर्षीय डम्मरबहादुर बुढा अहिले भने राजनीति क्षेत्रबाट अली टाढा हुनुहुन्छ ।

उहाँको दाहिने हातको पाखुरामा एक, देब्रे खुट्टामा एक, दाहिने खुट्टामा दुई, घाँटीमा दुई वटा गोली छन् । त्यसैगरी पेटमा एक, गालामा एक र कम्मरमा एक गोली छन् । शरीरभरि छर्रा रहेको पनि उहाँले जानकारी दिनुभयो । जनयुद्धका बेला विसं २०५५ चैत ७ गते म्याग्दीको बेनी बेसक्याम्पबाट सैनिक ब्यारेक कब्जा गर्ने क्रममा गोली चल्दा शरीरमा १५ वटा गोली लागेका थिए । बुढालाई गोली लागेपछि सबै भाग्न सफल भएका थिए । उहाँको शरीर रगताम्मे भएको थियो । घाइते अवस्थामा पुग्नुभएका बुढालाई भित्रकै स्वास्थ्य विभागको टोलीले उपचार गरेको थियो ।

घटनाको आठ वर्षपछि भारतको मुम्बईको एक अस्पतालमा शल्यक्रिया गरेर पाँच गोली निकालियो । दुई हातको पाखुरा, दुई खुट्टा र एक वटा गालाबाट गोली निकालिएको थियो । त्यो गोली चाँहि नसा र हड्डीको छेउछाउमा भएका कारण स्वास्थ्य अवस्थामा समस्या पर्ने र अपाङ्गतासमेत हुनसक्ने भन्दै बाँकी १० गोली निकाल्न नमिल्ने चिकित्सकले सुझाव दिएका थिए । अहिले ती गोली शरीरभित्र त्यत्तिकै बसेका छन् । शरीरमा गोलीका दाग प्रष्टै देख्न सकिन्छ ।

बुढाको उपचार जङ्गलमै गरिएको थियो । युद्धभूमिकै उपचारले उहाँको ज्यान बचेको थियो । अहिले उहाँको दुवै खुट्टा, हात, घाँटी र ढाडमा लागेको गोलीको निसान बाहिरबाटै प्रष्ट देख्न सकिन्छ । गोली भएको ठाउँमा दुख्ने, चिलाउने, झमझमाउने र करेन्ट लागेको जसरी बेलाबेलामा झट्का लाग्ने गरेको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण औषधि पनि प्रयोग गर्न नसकेको उहाँले सुनाउनुभयो ।

विसं २०५७ मा १६ वर्षको उमेरबाट राजनीति यात्रा शुरु गरेका बुढाले विद्यार्थी सङ्गठनमा पनि काम गर्नुभएको थियो । त्यसपछि गुल्मीमा जनमुक्ति सेनाको प्लाटन कमान्डर भई काम गर्नुभएको थियो । परिवार नै राजनीतिमा लागेका कारण परिवारको पे्ररणाबाट जनयुद्धमा होमिएको उहाँले बताउनुभयो । लगातार रुपमा विसं २०५५ देखि २०६० सम्म युद्धमा होमिएका बुढा त्यसपश्चात भने भारतमै बस्नुभएको थियो ।

हाल एक वर्ष अघि मात्र नेपाल फर्कनुभएका बुढाले लम्पाकोटमा खेती किसानी गरिरहनुभएको छ । सामान्य काम गर्न सक्ने तर शरीरलाई भार पर्ने खालका काम गर्न नसक्ने उहाँकी पत्नी जगतकुमारी बुढाले बताउनुभयो । अहिले उहाँले सामान्य जीवनयापन गरिरहनुभएको छ । गोलीकै कारण बुढाले धेरै काम गर्न नसक्ने साथै एक्लै र चिसोमा हिँड्न गर्नसमेत सक्नुहुन्न । रासस

प्रतिक्रिया दिनुहोस्