साता नबित्दै तीन एसपीको सरुवा




काठमाडौं : केही दिन अघि मात्र दाङको प्रहरी प्रमुखबाट जनकपुर गणमा सरुवा गरिएका एसपी बेलबहादुर पाण्डेलाई सातादिनमै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) मा काज सरुवा गरेका छन् ।

दाङमा रहँदा विवादमा तानिएका पाण्डेलाई दरबन्दी बिना नै सिआईबीमा पठाईएको छ । पाण्डेको सरुवासंगै सिआइबीमा एसपीको संख्या तीन पुगेको छ। अहिले एसपीद्वय दिपक रेग्मी र आभुषण तिम्सिना पनि सिआइबीमा कार्यरत छन् ।
प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले बिभागिय आवश्यकता अनुसार आइतबार र सोमबार तीन एसपीको काज सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी मुख्यालयका अनुसार पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङ दरबन्दी भइ प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी जिवनकुमार श्रेष्ठलाई ट्राफिक महाशाखा पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि एसपीको संख्या थप गरिएको छ । महाशाखामा बढ्दै गरेको कार्यबोझलाई मध्यनजर गर्दै एसपीको संख्या बढाइएको आइजी सचिवालय स्रोतले जानकारी दिएको छ । महाशाखामा अहिले एसपी रविकुमार पौडेल कार्यरत छन् ।

त्यस्तै अघिल्लो सरुवामा गुल्मीको प्रहरी प्रमुखबाट सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल सरुवा गरिएका एसपी दिपककुमार बस्नेतको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान बिभागमा काज सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्