जनताभन्दा पहिले कांग्रेसी नेताहरुमा जागरण जरुरी



काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलवारदेखि दोस्रो चरणको जागरण अभियान सञ्चालन गरेको छ । जागरण अभियानमा नेकपाको सरकारले गरेका गलत कामहरुको भण्डाफोर र नेपाली कांग्रेसको आन्तरिक संगठन सुदृढीकरणलाई एकसाथ लैजाने लक्ष्य अघि सारिएको छ ।

यस अघिको पहिलो चरणको जागरण अभियान केन्द्रीय नेताहरुका बीचमा एकापसमा भण्डाफोरका रुपमा अघि बढ्न थालेपछि समय अगाबै रोकिएको थियो । यसको समीक्षासहित निर्माण गरी अघि बढाइएको भनिएको यो दोस्रो चरणको जागरण अभियमान पनि पहिलेको भन्दा खासै भिन्न नहुने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

पहिलो त कांग्रेसमा चुनावताका विसाल वामपन्थी गठबन्धन हुन गएकाले कांग्रेसको हार भएको भन्ने चुनावसम्बन्धी गलत समीक्षा रहेको छ । कांग्रेसले वाम गठबन्धनका कारणले भन्दा पनि उसको कुनै पनि आकर्षक चुनावी एजेण्डाहरु नभएकाले हार बेहोरेको हो । हारको कारण बाहिर होइन, भित्र खोज्नु पर्छ । यसका पछाडि धेरै आन्तरिक कारणहरु छन् । ती विचारदेखि राष्ट्रियता र जनताको जीविकोपार्जनसम्म जोडिएर आएका छन् ।

विचारका हिसाबले आम चुनावभन्दा अगाडि नै नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादका बारेमा गम्भीर छलफल गरी एजेण्डा अघि सार्नुपर्ने थियो । संघीय संविधानमा समाजवाद उन्मुख भनेर राज्यसत्ताको चरित्र निर्धारण गरिसकेपछि कांग्रेस यसका बारेमा बेसरोकार रह्यो । यो उसका लागि नम्बर एक अवसर थियो । यसलाई वीपीले परिकल्पना गरेको समाजवादको रुपरेखाको प्रतिमूर्तिका रुपमा व्याख्या गर्न सक्थ्यो ।

ठीक यहीनेर उसको चुनावी प्रतिद्वन्दी वाम गठबन्धले समाजवाद निर्माणको कुरा जोरस्वरले उचालेको थियो । यस्तो अवस्थामा समाजवादका कुरा नउठाएर प्रतिद्वन्दीलाई नेपाली कांग्रेसले कसरी पछाडी पार्न सक्थ्यो ? यो नेपाली कांग्रेसभित्र वीपीको प्रजातान्त्रिक समाजवादको सिधा अस्वीकरणको अभिव्यक्ति थियो । तर आज जागरण अभियानमा आएर वीपीको प्रजातान्त्रिक समाजवादको कुरा गरेर केही पनि हुने देखिदैन ।

दोस्रो महत्वपूर्ण कुरा नेपाली कांग्रेसले राष्ट्रियताको एजेण्डा नै उठाउन छाडिसकेको छ । नेपाली कांग्रेसले संवैधानिक राजालाई राष्ट्रियताको प्रतीक मान्दै आएको थियो । राजतन्त्रको अन्त्यपछि नेपाली कांग्रेसको राष्ट्रियता कहाँ छ, थाह छैन ।

नेपाली काङ्ग्रेसले जागरण अभियानमा केवल वीपी सच्चा राष्ट्रवादी नेता थिए भन्ने मात्र गरिरहेको छ । त्यसबाट पूरै देशले पाठ सिक्नपर्ने भनिरहेका छ । कांग्रेसीजनहरु यसो भनिरहँदा जनताका बीचमा अर्को आशंका पलाएको छ, त्यो हो संवैधानिक राजतन्त्र पुनस्र्थापनाको । त्यसो त कांग्रेसभित्र दोस्रो जागरण अभियानसँगै हिन्दू राज्य पुनस्र्थापनाको कुरा पनि जोडतोडले उठिरहेको छ ।

आफ्ना एजेण्डाहरुको छलफल र तयारी नगर्ने तर एकोहोरो वीपीको प्रजातन्त्र र राष्ट्रियताका कुरा गर्दै ओठे भाषणमात्र गर्न थाल्दा नेपाली कांग्रेसका नेताहरुमा सबैभन्दा पहिले वैचारिक र राजनीतिक जागरण आएपछि मात्र पार्टी र देशमा उक्त जागरणको औचित्यता रहने विशलेषकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्