नेकपा दुई नम्बर प्रदेशमा झडप हुनुको भित्री कथा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का केही जिल्लाका जिल्ला कमिटी सदस्यको सपथ ग्रहण कार्यक्रममा आज झडप भएको छ ।

आज महोत्तरीको बर्दिबासमा रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ कार्यक्रम राखिएको थियो । तर पार्टीमा भएको छलफल पश्चात रौतहट, सर्लाही, महोत्तरी र धनुषाको सपथ रोक्ने सहमती भएको थियो ।

सपथ ग्रहण कार्यक्रममा सहभागि एक नेताका अनुसार कार्यक्रम शुरु हुन नपाउँदै कार्यक्रममा पार्टी सदस्य नै नभएका व्यक्तिहरु आएर होहल्ला गर्न थालेका थिए । उनीहरुले होहल्ला गर्न थालेपछि झडपको अवस्था सृजना भएको हो । यस अघि नै बारा र पर्सा जिल्ला कमिटीको सपथ भईसकेको छ ।

कार्यक्रम शुरु नहुदै झडप भएपछि स्थिति असमान्य बनेको थियो । झडपमा परी केही नेता समान्य घाईते समेत भएका छन् । तर नेताहरुको पहलमा अवस्था अहिले समान्य बनेको छ । सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम अगाडी बढीरहेको नेकपा प्रदेश २ का सांसद दिलिप साहले बताए ।

नेकपा स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर समुहले सपथ ग्रहण कार्यक्रम अगाडी नै बिवाद झिकेपछि झडप हुन पुगेको हो ।

नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज बिश्वनाथ साह, केन्द्रीय सदस्य एवं प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले जिल्ला कमिटीको गठन मनोमानी गरेको आरोप असन्तुष्ट पक्षको रहेको छ ।

असन्तुष्ट पक्षकाले जिल्ला कमिटी गठन गर्दा पार्टीले बनाएको मापदण्ड विपरित गठन गरिएको, पार्टी सदस्य नै नभएकालाई सदस्य नियुक्ति गरिएको, योग्दान, क्रियाशिलता एवं योग्यता विपरित एकपक्षीय ढंगले सदस्य मनोनय गरेको आरोप लगाएको छ ।

तर हाल नेतृत्वमा रहेका मण्डल, साहद्धय र प्याकुरेलले जिल्ला कमिटी गठन गर्दा पार्टीले बनाएको मापदण्ड अनुसार नै गठन भएको बताउँदै आएका छन् । योग्यता, क्षमता, बिगतको योगदान लगायतका आधारमा पार्टीले बनाएको मापदण्ड अनुसार कमिटी गठन भएको नेतृत्व पक्षको दावी रहेको छ ।

स्रोतका अनुसार हालै मात्र प्रदेश २ का सहइन्चार्ज तोकिएका नागेन्द्र चौधरी र महेन्द्र पासवानले सपथ ग्रहण स्थगित गर्नका लागि बिगत तीन दिन देखि जिल्ला जिल्लामा घुमेर कोठे बैठक र आन्तरिक तयारी गरेका थिए । उनीहरुलाई नेकपा स्थायी समितिका सदस्य मातृका यादवको समर्थन रहेको बताईन्छ ।

आफू निकटका नेताहरु छुटेकाले उनीहरुलाई जिल्ला कमिटीमा थप्नुपर्ने अडान चौधरी र पासवानको रहेको छ ।

चौधरी वरिष्ठ नेता नेपाल र पासवान मातृका निकटका नेता हुन् । मण्डल र प्याकुरेल पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, बिश्वनाथ साह सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ निकटका नेता हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने प्रदेश अध्यक्ष प्रभु साह अहिले २ नम्बर प्रदेशमा आफ्नो छुट्टै अस्तित्व निर्माणका लागि छुटै समुह बनाएर अघि बढेका छन् ।
प्रदेश कमिटिदेखि २ नम्बर प्रदेशका जिल्लहरुमा सदस्य मनोनयन गर्दा साहले आफूसँग नजिक भएकालाई च्याप्दै आएका छन् । सपथग्रहण कार्यक्रममा पनि साहले यो छनक दिएका छन् । केही समय अघि नेकपा सचिवालयले सहईञ्चार्जका रुपमा चौधरी र पासवानलाई मनोनयन गरेपछि असन्तुष्ट बनेका साहले राजिनामा समेत दिएका थिए । पार्टीमा आफूले भनेअनुसार नभए राजिनामा बुझाउने साहको यो शैली नै बनेको एक प्रदेश सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्