डेंगुझैँ फैलिँदै स्क्रब टाइफस, के हुन् लक्षण ?



काठमाडौं : करिब ५० जिल्लामा फैलिएको डेंगु नियन्त्रण गर्न नसकिरहेको सरकारसामु अर्को रोग स्क्रब टाइफस पनि चुनौती बनेको छ । पछिल्ला चार वर्षमा ३५ जनाको ज्यान लिएको यो रोग खासगरी मुसा प्रजातिको जीवमा बस्ने माइट नामक किर्नाको टोकाइबाट लाग्छ । असारयता स्क्रब टाइफस १४ जिल्लामा फैलिसकेको छ ।

गत वर्षझैँ यसपटक पनि सबैभन्दा पहिले पाल्पामै स्क्रब टाइफसका बिरामी भेटिएका हुन् । सरुवारोग क्षेत्रका जानकार डा। शेरबहादुर पुनले टाइफाइड ठानेर यो रोगको गलत पहिचान हुँदा समस्या देखिने गरेको बताए । शरीरमा यो जीवाणु फैलिएपछि फोक्सो, कलेजो र मस्तिष्कमा संक्रमण हुन थाल्छ । समयमै सही उपचार नभए दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्ने, रक्तचाप न्यून हुने, शरीरका विभिन्न अंगमा क्षति पुग्ने, मिर्गौला फेल, निमोनिया, ब्याक्टेरियल संक्रमण, छारेरोग र मासु कुहिनेजस्ता समस्या देखिन्छ ।

स्क्रब टाइफस संक्रमण गराउने माइट खासगरी खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिमा रहन्छ । यसले टोकेको ठाउँमा दाग देखिन्छ, कतिपय अवस्थामा नदेखिन पनि सक्छ । वेलैमा नियन्त्रण गर्न नसके डेंगुले झैँ महामारीको रूप लिने भन्दै चिकित्सकले सचेत गराएका छन् ।

मानिसमा कसरी सर्छ ?
संक्रमित माइटले मानिसलाई टोक्दा उसको -यालमा भएको जीवाणु (ओरिएन्टा सुसुगामुसी) रगतमा फैलिन्छ । सुसुगाको अर्थ सानो र खतरनाक हो । माइट ०.२ मिलिमिटरदेखि ०.४ मिलिमिटर लामो हुन्छ । संक्रमित व्यक्तिलाई अत्यधिक टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने, जिउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउनेलगायत लक्षण देखिन्छन् । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा भने यो रोग सर्दैन । यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्