राष्ट्रपति सीको भ्रमण र नेपाल–चीन सम्बन्ध



काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा रहँदा नेपाल–चीन सम्बन्धका साथै नेपालको आर्थिक समृद्धिका बारेमा चर्चापरिर्चा भइरहेको छ । धेरैको विश्लेषणमा नेपाल–चीन सम्बन्ध नयाँ र बहुआयामिक सहकार्यको दिशातिर अघि बढ्दै गरेको देखिन्छ ।

चीन र भारत जस्ता तीब्रगतिमा आर्थिक उन्नति हासिल गरिरहेका दुई ठूला शक्तिशाली छिमेकीहरुका बीचमा विपन्न तथा सानो देशका रुपमा रहेको नेपालले राजनीतिक सन्तुलन कायम गर्दै आर्थिक समुन्नतिमा अघि बढ्न आफैलाई राम्रो गरी चिन्न सक्नुपर्ने विश्लेषकहरुको राय छ ।

भनिन्छ, भारतबाट तेल ल्याउन चटक्क छोड्नुहुँदैन, तर चिनियाँ रेल एक्लैले समृद्धि ल्याउँदैन । त्यसैले कुटनीतिज्ञ डा.भेषबहादुर थापाको भनाइलाई राम्रो गरी बुझ्नु जरुरी छ । उनी भन्छन् : ‘चीन वा भारत होइन, चीन र भारत ।’ उनका अनुसार यी दुई शक्तिशाली देशहरुका बीचमा रहेको नेपालले समदुरीका आधारमा दुई छिमेकीहरुसँगको सम्बन्धलाई गति दिनु पर्छ ।

यही रणनीतिक भूराजनीतिक कुरालाई हेक्का राख्दै चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई विदेशी कुटनीतिक वृत्तबाट निकै चासोका साथ हेरिएको छ । यसलाई केवल विदेशमन्त्रीको भ्रमणका रुपमा मात्रभन्दा पनि चिनियाँ राष्ट्रपति सि जिन फिङको भ्रमणको तयारीका रुपमा हेरिएको छ ।

यसमाथि प्रकाश पार्दै चीनका लागि नेपाली पूर्व राजदूत महेश मास्के पनि चिनियाँ विदेशीमन्त्री तथा स्टेट काउन्सिलर वाङ्को भ्रमण राष्ट्रपति सी जिन फिङको दोस्रो कार्यकालमा नेपाल भ्रमण गर्ने वरिष्ठ चिनियाँ अधिकारीको भ्रमणका रुपमा जोड्छन् ।

उनका अनुसार विदेश मन्त्री वाङको भ्रमण दुई देशबीचको चलिरहेको द्विपक्षीय सम्बन्धको पुनरवलोकन मात्र नभएर राष्ट्रपति सीको संभावित भ्रमणको तयारी र हुनेवाला सम्झौताको गृहकार्यको तयारीका रुपमा अथ्र्याउनु अन्यथा हुन जाँदैन ।

नेपालमा अब व्यवस्था परिवर्तन भएको छ । दुईतिहाई बहुमत प्राप्त सरकार छ । त्यसैले चीनका लागि नेपाली राजनीतिक स्थिरकाको कुरा उठाइरहनु पर्ने जरुरी छैन । संघीय संविधान जारी र दुईतिहाई सरकारद्वारा त्यसको कार्यान्वयनसँगै बदलिंदो परिस्थितिमा विगतको निरन्तरता भन्दा पनि केही बढी आशा गरेको भान हुन्छ । चिनियाँ राष्ट्रपति सि जिन फिङको निकट भविष्यमै हुन लागेको भारतभ्रमणकै क्रममा नेपाल आउने धेरैको अनुमान रहेको छ ।

नेपाल–चीन बीच भएको ऐतिहासिक व्यापार तथा पारवहनसम्बन्धी सम्झौता, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), दुई देशबीच हुनुपर्ने सहकार्य ढाँचा, चीन–नेपाल–भारत त्रिदेशीय आर्थिक कोरिडोर आदिका बारेमा गम्भीर गृहकार्य आवश्यक छ ।

नेपालको भौगोलिक अवस्थिति, दुई ठूला छिमेकी देशहरुको समान चासो र अमेरिका लगायतका समुद्रपार शक्तिकेन्द्रहरुको बक्र दृष्टि आदिका कारण चीन–नेपाल बीचको परम्परागत सम्बन्धले मात्र धान्ने देखिदैन । यसका लागि नेपाल–चीन बीचमा बहुआयामिक सहकार्य जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्